| सोमवार, कार्तिक २३, २०८३

सुन्तला उत्पादन बढ्नु सुखद

गोरखालाई चिनाउने धेरै कुराहरु छन् । मनास्लु, बूढीगण्डकी, मास अनि सुन्तला । यतिबेला पृथ्वीराजमार्गका बजार क्षेत्र र काठमाडौंमा गोरखाको सुन्तला छ्यापछ्याप्ति पाइन्छ । गोरखाको सुन्तला भनेपछि त्यसको इज्जत, त्यसको ब्राण्ड नै उच्चस्तरको मानिन्छ ।

गोरखा पनि विशेषतः मनकामनाको सुन्तला भनेर ब्राण्डिङ गर्ने गर्छन् । गोरखाको वा मनकामनाको सुन्तला भनेपछि त्यसको मूल्यमा पनि व्यापारीले केही रकम जोड्ने सुविधा पाउँछन् । यतिसम्म हुनेगर्छ कि, गोरखाबाहेक अन्यत्रको सुन्तलालाई पनि गोरखाको वा मनकामनाको सुन्तला भनेर भाउ खाने गर्छन् । यसको अर्थ गोरखा सुन्तलाका नामले चर्चित छ ।

तर केहीबर्षदेखि सुन्तलाको रोग(ग्रिनिङ)ले गोरखाको सुन्तला खेतीमा ह्रास आयो । सुन्तला खेती गर्ने धेरै व्यवसायिक किसानहरु व्यवसायबाट पलायन हुँदै गए । यसपछि सरकारले गोरखामा सुन्तला खेतीलाई अझै बढवा दिन सुन्तला जोन स्थापना गरी कार्यक्रम लागु ग¥यो । सुन्तला जोन कार्यक्रमले विभिन्न पालिकाका गाउँबस्तीमा सुन्तला खेतीलाई पुन सुधार गर्न जोड दियो ।

यसकै परिणाम स्वरुप यसबर्ष बिगतका बर्षहरुमा भन्दा धेरै सुन्तला उत्पादन भएको छ । कार्यक्रम अन्तर्गत पुराना बोटहरु हटाउने, नयाँ बिरुवा लगाउने, सिँचाइ गर्ने, मल राख्ने, टिप्ने पनि आधुनिक विधि, प्रविधिहरु अपनाइएको छ । अब सुन्तलाका बोटहरुमा रोग लाग्यो भने तत्काल अनुसन्धान गरी उपचार गर्ने सेवा पनि सुरु भएको छ ।

अहिले किसानका बगैँचासम्म मोटरबाटो पुगेको छ । जसले गर्दा ठेकेदारहरु बगैँचासम्म मोटर लगेर ढुवानी गर्न सक्ने भएका छन् । यसले गर्दा किसानले ठेकेदारबाट उचित मूल्य पाउने अबस्था सिर्जना भएको छ । यसले गर्दा सुन्तला उत्पादक किसानहरु खुशी भएका छन् ।

जिल्लामा यो वर्ष २२ प्रतिशतले सुन्तलाको उत्पादन बढ्ने राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्