
तुलसीमान लोकसाहित्य सम्मान राजुबाबु श्रेष्ठलाई दिने घोषणा
यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान राजुबाबु श्रेष्ठलाई प्रदान गरिने भएको छ । तुलसीमान श्रेष्ठ स्मृति समाजले प्रेस विज्ञप्ति जारी गरी यसबर्षको सम्मान दशकौंदेखि गीत, कथा तथा उपन्यास लेखनमा अनवरत क्रियाशील डाक्टर राजुबाबु श्रेष्ठलाई प्रदान गर्ने जनाएको हो ।
२५ हजार नगदसहित सम्मान गरिने सो कार्यक्रम आउँदो मंसीरको २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहका बीच प्रदान गर्ने कार्यक्रम रहेको तुलसीमान श्रेष्ठ स्मृति समाजका निरजमान श्रेष्ठले जानकारी दिए । नेपाल प्रहरीमा ३० बर्षे सेवाबाट निवृत्त राजुबाबु श्रेष्ठका मनहरु र देश दुखेका बेला कविता संग्रह प्रकाशित छन् ।
त्यस्तै मारिनोसेलोको जून, मृत्यूमेला, बेनामे जर्नेल कथा संग्रह, प्रहरी र साहित्य खोजमुलक लेखन संग्रह, १० वटा गीति संग्रह(एल्बम) र पानीको फोका गीति संग्रह प्रकाशित छन् । राष्ट्रिय कविता सम्मेलन २०५३ मा तृतीय पुरस्कार प्राप्त गरेका उनले प्रहरी द्वैमासिकको प्रथम २०६० मा, हरि उत्कृष्ठ प्रतिभा पुरस्कार २०६०, सर्वोत्कृष्ठ गीतकार सम्मान २०६९(रेडियो कान्तिपुर), च्वाइस एफएम सम्मान २०७०, सर्वोत्कृष्ठ गीतकार सम्मान २०७०(कालिका एफएम), सर्वोत्कृष्ठ गीतकार सम्मान २०७०(योङमाइन इन्टरटेनमेण्ट) तथा सर्वोत्कृष्ठ गीत इमेज अवार्ड २०७१ र २०७२ प्राप्त गरेका छन् ।
लोकगीत तथा लोकसंस्कृतिको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दागर्दै क्यान्सर रोगका कारण २०७३ सालमा निधन भएका तुलसीमान श्रेष्ठको स्मृतिमा सो सम्मान स्थापना गरिएको हो । गोरखाको पहिलो समाचारमुलक पत्रिका दरौँदीका संस्थापक सम्पादकका रुपमा काम गरेका श्रेष्ठले गोरखा, तनहूँ, नेपालगञ्ज, काठमाडौँका क्याम्पसमा प्राध्यापन गरेका थिए ।
श्रेष्ठका गोरखाली लोक साहित्य, हिन्दू धर्ममा नारी, पुस्तान्तर कथा संग्रह, नेपाली लोक गीतः परिचय र बिश्लेषण, झ्याउरे गीतको अध्ययन, र अधकल्चो जीवन लगायतका पुस्तकहरु प्रकाशित छन् । त्यस्तै विजय मल्ल स्मृति ग्रन्थ, र विजय मल्ल स्मारिका लगायतका कृति सम्पादन पनि गरेका थिए ।




