
ठेक्का सम्झौता रद्दको शक्ति : क्रोनिक ठेक्का सुचारु
बिगत लामो समयदेखि ठेकेदारले अलपत्र छाडेको नौलीखोला मोटरेवल पुलको काम केही दिनयता अघि बढेको छ । डेढबर्षदेखि काम रोकिएको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला पुल एक महिनाअघिबाट काम पुनः सुचारु भएको हो ।
४ करोड ३५ लाखमा सो पुल निर्माण गर्न सूर्योदय कन्स्ट्रक्शन र पूर्वाधार कार्यालय बीच ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार गतबर्ष नै काम सम्पन्न गर्नुपर्ने थियो तर, अघिल्लो बर्ष एक प्रतिशत पनि अघि बढेन । आउँदो असार मसान्तसम्म काम सम्पन्न गर्नेगरी हालै म्याद थप भएको छ ।
भौतिक योजनामन्त्री कुलमान घिसिङले काम नगर्ने ठेकेदारसंग ठेक्का सम्झौता तोड्ने कडा कदम उठाएपछि ठेकेदारले काम गर्न सुरु गरेको हो । अहिले स्ल्याब ढलानका लागि फर्मा निर्माण गर्ने र डण्डीको काम भइरहेको छ । डाइभर्सन बनाएर माटो फिलिङ गर्ने काम सम्पन्न भइसकेको छ ।
उक्त पुलको कुल लम्वाई ३५ र चौडाई ८.४० मिटर रहने छ । प्रिस्ट्रेस प्रविधिको उक्त पुल बनेसँगै माछाखोलासम्म बाहै्र महिना मोटर संचालन हुनेछ । यसरी नै अन्य क्रोनिक बनेका योजनाहरुको पनि धमाधम ठेक्का सम्झौता रद्द गर्ने चेतावनीसहितको कडा कदम चालेमा कि काम समयमा हुनेछ, अथवा ठेक्का रद्द भई नयाँ ठेक्का सम्झौता हुनेछ ।
नयाँ ठेक्का सम्झौता गरी अघि बढ्न पनि डेढदेखि दुईमहिना लामो प्रक्रिया पूरा गर्नुपर्ने अबस्था सिर्जना हुन्छ तर बर्षौँदेखि अलपत्र ठेक्का कि तोडिन्छ, कि काम सुचारु हुन्छ । तसर्थ सरकारी पक्षले दह्रो खुट्टा टेक्न सक्नुपर्छ । ठेकेदार रिझाएर काम गरौँला भन्नु ढिलासुस्ती वा कामै नहुने पद्धतिको द्योतक हो ।




