
काङ्ग्रेसले आइतबार र सोमबार उम्मेद्वारका आकांक्षीको नाम सिफारिस गरी पठाउने
आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम आइतबार र सोमबार जिल्ला कार्यसमितिमा पेश गर्ने कार्यतालिका तय भएको छ । आइतबार क्षेत्र नं. २ को क्षेत्रीय समितिले र सोमबार क्षेत्र नं. १ को क्षेत्रीय कार्य समितिले नाम जिल्ला कार्यसमितिमा पेश गर्ने कार्यतालिका रहेको गोरखा कांग्रेसका सचिव किशोरजंग थापाले जानकारी दिए ।
‘क्षेत्रीय समितिले तीनजनाको नाम जिल्ला कार्यसमितिमा पेश गर्छन् । त्यसपछि त्यही नाम जिल्ला कार्यसमितिले प्रदेश समितिमा पेश गर्नेछ’, सचिव थापाले भने, ‘यदि तीनभन्दा धेरैको नाम क्षेत्रीय समितिले जिल्ला समितिमा पठायो भने जिल्ला कार्य समितिले छलफल गरी तीनजनाको नाम सिफारिस गरी प्रदेश समितिमा पठाउने छ ।’ कांग्रेसले राष्ट्रिय सभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न १० बुँदे मापदण्ड तय गरेको छ । समानुपातिक उम्मेदवार समेतको हकमा ती मापदण्ड लागू हुने कांग्रेसले जनाएको छ ।
केन्द्रीय समिति बैठक सकिएको भोलिपल्ट कांग्रेसले आन्तरिक पंक्तिमा पठाएको सर्कुलरमा अघिल्लोपटक प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आसन्न निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार हुन रोकेको छ । यस्तै, ‘२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइनेछैन’ कांग्रेस सर्कुलरमा छ ।
कांग्रेसले मापदण्डसम्बन्धी सर्कुलर मंगलबार जिल्ला कार्यसमितिका सभापतिका नाममा पठाएको सर्कुलरमा भनिएको छ, ‘कुनै पनि प्रकारको सामाजिक बिसंगतिमा दोषी ठहर भएकालाई उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ । जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन् ।’
यस्तै, प्रदेश सभा सदस्य निर्वाचन, ०७९ को समानुपातिकको बन्दसूचीमा समावेश व्यक्तिहरूको नाम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेद्वारमा सिफारिस गर्न नपाइने मापदण्ड बनाएको छ । यसबाहेक प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पदमध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिस गर्नुपर्ने मापदण्ड पनि कांग्रेसको छ ।




