
अभियानबाट जुटेको १ लाख २१ हजार पुनर्निर्माण कोषमा
जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गोरखामा सञ्चालित अभियानबाट संकलन भएको रकम सरकारको पुनर्निर्माण कोषमा पठाइएको छ । नागरिक समाजद्वारा सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट जुटेको १ लाख २१ हजार ५५५ रुपैयाँ नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दाखिला गरिएको अभियानका संयोजक हरि देवकोटाले जानकारी दिए ।
गोरखा सदरमुकामका ४४३ घर पसल तथा व्यक्तिवाट संकलन भएको र इच्छुकहरुले क्यूआर कोडमार्फत पठाएको गरी सो परिमाणको रकम प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठको रोहोबरमा कोषमा दाखिला गरिएको अभियन्ता देवकोटाले जानकारी दिए । ‘आइतबार समूह मिलेर पूरै गोरखा बजारभर सहयोग संकलन गरेका थियौं’, उनले भने, ‘सोमबार, मंगलबार र बुधबार भने विभिन्न व्यक्ति, सहयोगी दाता तथा संघ संस्थाबाट रकम जम्मा गरिएको थियो ।’
अभियानबाट जुटेको रकम बुधबार एकमुष्ट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दाखिला गरिएको उनले बताए । रकम जम्मा गरेको भौचर र प्रतिवेदन बुधबार जिल्ला प्रशासन कार्यालय गोरखा र प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइएको उनको भनाइ छ ।




