| सोमवार, कार्तिक २३, २०८३

पहिलो चौमासिकमै योजना सम्पन्न गर्ने उपभोक्ता समिति सम्मानित

पहिलो चौमासिकमै योजना सम्पन्न गरी भुक्तानी फरफारक गर्न सफल उपभोक्ता समितिहरुलाई वडा कार्यालयले सम्मान गरेको छ । सहिदलखन गाउँपालिका वडा नं. ७ को कार्यालयले वडाभित्रका योजना सम्पन्न गरी फस्र्यौट गर्ने समितिलाई सोमबार सम्मान गरेको हो ।

विकास निर्माणको काम जतिसक्दो चाँडो गरिसक्न हौसला प्रदान गर्न समितिलाई सम्मान गरेको वडाअध्यक्ष शरण श्रेष्ठले बताए । ‘सबैभन्दा छिटो योजना सम्पन्न गर्ने तीन उपभोक्ता समितिलाई सम्मान गर्ने पूर्व घोषित कार्यक्रमअनुसार सम्मान गरिएको हो’, वडाअध्यक्ष श्रेष्ठले भने, ‘सबैभन्दा पहिले गत असोज २ गते नै योजना सम्पन्न गर्ने बोर्लाङी गाउँ सामुदायिक भवनमा ट्रस्ट निर्माण गर्ने उपभोक्ता समिति, त्यसपछि योजना सम्पन्न गर्ने मकैपुर, डाँडागाउँ सितलचौतारा बाटो ढलान उपभोक्ता समिति र असोज ४ गते योजना सम्पन्न गर्ने बुङ्कोट स्वास्थ्यचौकीमा सुत्केरी कक्षा स्तरोन्नति गर्ने उपभोक्ता समितिलाई सम्मान गरियो ।’

सो वडा कार्यालयले यो आर्थिक बर्ष २६ वटा योजना तय गरेको छ । जसमध्य १६ वटा विकास निर्माणका र १० वटा योजना तर्जुमा गरेको छ । जसमध्य १२ वटा योजना सम्पन्न भएर योजना फरफारक भइसकेको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । बाँकी चारवटा योजना पनि धमाधम काम सञ्चालन भइरहेको उनले बताए ।

वडाले विभिन्न १० वटा सफ्टवेयरका कार्यक्रम पनि सञ्चालन गर्दैछ । जसमध्य तीनवटा सुरु हुन बाँकी रहेको अरु सञ्चालन भइरहेको र सबै योजना तथा कार्यक्रम पुसको दोस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए । सो वडामा साउन १ गते सबै उपभोक्ता समिति गठन भएर अभिमुखीकरण गरी योजना सम्झौता भइसकेको थियो ।

दोस्रो चौमासिक नसकिँदै सतप्रतिशत कार्य प्रगति गर्ने लक्ष्य रहेको वडाअध्यक्ष श्रेष्ठको भनाइ छ । यसअघि पनि सो वडाले सतप्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेबापत दुई आर्थिक बर्षसम्म गाउँपालिकाबाट सम्मानित भइसकेको छ । सतप्रतिशत कार्यप्रगति गर्ने वडालाई पुरस्कृत गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार सो वडाले दुईपटकसम्म पाँच–पाँचलाख रुपैयाँका दरले पुरस्कार पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्