| शुक्रबार, बैशाख १७, २०८३

सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न जेष्ठ नागरिक महासंघको माग

राष्ट्रिय जेष्ठ नागरिक महासंघले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघको यही आइतबार र सोमबार गोरखामा सम्पन्न तेस्रो केन्द्रीय कार्यसमिति बैठकले जेष्ठ नागरिकहरुको बर्गीकरण गरी उमेर र अवस्थाका आधारमा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुपर्ने माग राखेको हो ।

हवाई यातायातसहित सार्वजनिक यातायातका साधनहरुमा यात्रा गर्दा भाडामा विशेष छुटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । जेष्ठ नागरिकहरुको बृद्धभत्ताबापत विभिन्न बैँकमा लामो समयदेखि निष्कृय रहेको अरबौँ रकम जेष्ठ नागरिकहरुको कोषमा ल्याउने नीतिगत व्यवस्था गर्नका लागि विशेष पहल गर्ने निर्णय संघको बैठकले गरेको छ । स्वास्थ्य बीमालाई व्यवस्थित र जेष्ठ नागरिक मैत्री बनाउनुपर्ने उनीहरुको माग छ । यस्तै, बृद्ध भत्ताको रकम बैँकमा दाखिला भएको सुरुको समयदेखि नै व्याजको व्यवस्था गर्नुपर्ने माग उनीहरुले राखेको छ ।

सरकार, निजी क्षेत्र र व्यक्तिगत तबरमा निर्माण हुने संरचनाहरु जेष्ठ नागरिक मैत्री बनाउनुपर्ने महासंघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले बताए । ‘माध्यमिक तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा नैतिक शिक्षाका साथै बुढ्यौली शिक्षा समावेश गराउन पहल गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘अन्तरपुस्तामा आएको दुरी पहिचान गरी हटाउन ७७ वटै जिल्लामा सचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको छ ।’

यसैगरी, महासंघको सिफारिसमा एकजना जेष्ठ नागरिकलाई राष्ट्रिय सभा सांसदमा आरक्षण सिटको व्यवस्था गर्न, महासंघको भवन निर्माणका लागि उचित ठाउँमा जग्गाको व्यवस्था गर्न र स्थानीय तहका सबै वडाहरुमा कम्तिमा एउटा जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्नुपर्ने मागसहितको निर्णय गरेको उनले जानकारी दिए ।

उक्त निर्णयहरु सहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपतिको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यालयहरु लगायतको क्षेत्रमा बुझाउने तयारी रहेको राष्ट्रिय जेष्ठ नागरिक महासंघ नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्