
कर्जा दुरुपयोगको आरोपमा गोरखाका पोखरेलसहित तीन पक्राउ
प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा वैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित बैंकका तीन कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बैंकमै पुगेर शेरचनसहित बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोरखाका मणिराम पोखरेल र बैंकका प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको हो ।
५६ वर्षीय पोखरेल गोरखाको पालुङटार नगरपालिका २ का हुन् । त्यस्तै ५० वर्षीय श्रेष्ठ सुनसरीको इटहरी उपमहानगरपालिका ४ का हुन् । कुसुम लामा समेतविरुद्ध परेको जाहेरीमा सीआईबीले यसअघि दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा अनुसन्धान गर्ने क्रममा शेरचन र पोखरेलसहितको संलग्नता देखिएको सीआईबीको दाबी छ ।
शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पु¥याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको दाबी सीआईबीको छ ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा उच्च अदालत पाटनबाट अनुमति लिएरै उनीहरुलाई पक्राउ गरेको बताए ।




