
चितुवा संरक्षण गर्नु हाम्रो कर्तव्य
गत शुक्रबार गोरखाको एक जंगलमा दुई चितुवा मृत भेटिनु चिन्ताको विषय हो । कसैले लठ्याउने औषधीको प्रयोग वा अन्य कुनै शंकास्पद कारणले उनीहरूको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । तसर्थ यो घटना केवल एक दुर्घटना नभई गम्भीर अनुसन्धानको विषय बनेको छ । यदि यो घटना मानव–निर्मित हो भने, यसले हाम्रो समाजमा वन्यजन्तुप्रति बढ्दै गएको क्रूरता र संरक्षणप्रतिको उदासीनतालाई स्पष्ट पार्छ ।
नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । वन्यजन्तुहरू यसको गौरव हुन् । वन्यजन्तुलाई गौरवको विषयमात्र नठानी प्राकृतिक इकोसिस्टमको महत्वपूर्ण पक्ष पनि ठान्नुपर्छ । चितुवा जस्ता रैथाने मांसाहारी जनावरहरूको अस्तित्वले हाम्रो वनको पारिस्थितिक सन्तुलनलाई कायम राख्न ठूलो भूमिका खेल्छ । तर, पछिल्ला वर्षहरूमा वन फँडानी, बासस्थानको विनाश, र मानव बस्तीको फैलावटले गर्दा वन्यजन्तु र मानिस बीचको द्वन्द्व बढ्दै गएको छ । यसैको परिणामस्वरुप, वन्यजन्तुले बस्तीमा पसेर क्षति पु¥याउने र मानिसले प्रतिशोधमा उनीहरूलाई मार्ने क्रम बढेको छ ।
गोरखाको यो घटनाले सम्बन्धित निकायहरूलाई वन्यजन्तु बचाउनुपर्ने देखाएको छ । चितुवाको मृत्युको वास्तविक कारण पत्ता लगाउई यदि कसैले गैरकानूनी तवरले उनीहरूलाई मारेको पाइएमा कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ । मानव–वन्यजन्तु द्वन्द्वलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्नका लागि वैज्ञानिक र समुदायमा आधारित कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । बासस्थानको संरक्षण, सुरक्षित तारबार, र क्षतिपूर्ति प्रक्रियालाई सरल बनाउनु आवश्यक छ ।
त्यस्तै वन्यजन्तुको महत्व र संरक्षण कानुनबारे स्थानीय समुदायहरूलाई व्यापक रूपमा जानकारी गराउनु पर्छ । मानिस र वन्यजन्तु बीचको सह–अस्तित्वको भावनालाई प्रवद्र्धन गर्नु अपरिहार्य छ । डिभिजन वन कार्यालयहरूलाई दक्ष जनशक्ति, आवश्यक उपकरण र बजेटको व्यवस्था गर्नुपर्छ ताकि घाइते वा बस्तीमा पसेका वन्यजन्तुको तत्काल र सुरक्षित उद्धार गर्न सकियोस् ।




