| सोमवार, अशोज ११, २०८३

रत्नलक्ष्मी मावि डुम्रीडाँडामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोरखा नगरपालिका वडा नं ८ स्थित रत्नलक्ष्मी माविमा शुक्रबार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बाल उद्धार अभियान नेपाल (सिआरएम)को आयोजना र विद्यालयको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा सिआरएम अभियान संचालन भएका गोरखाका ६ र चितवन राप्ती नगरपालिकाको एक गरी जम्मा ७ विद्यालयले सहभागिता जनाएको रत्नलक्ष्मी माविकी शिक्षिका एवं सिएमआरकी एड्भोकेट साधना त्रिपाठीले बताइन् । सिआरएमको वार्षिक कार्यक्रम अन्तरगत ‘चेलिबेटी बेचबिखन बिरुद्ध जनचेतना अभिबृद्धिका लागि युवाको भूमिका’ शीर्षकमा प्रतिस्पर्धा भएको उनले जानकारी दिइन् ।

बक्तृत्वकला प्रतियोगितामा पालुङटार ९ स्थित मदनेडाँडा माविकी एलिसा श्रेष्ठ प्रथम भएकी छिन् । यस्तै, सहआयोजक रत्नलक्ष्मी माविकी समिता बस्नेत, द्वितीय र मण्डली मावि छोप्राककी अनुष्का पोखरेल तृतीय भएकी छिन् । उनीहरुले क्रमश रु १० हजार, ८ हजार र ६ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका अन्य सहभागीहरुले पनि रु १/१ हजारसहित प्रमाणपत्र प्राप्त गरेको त्रिपाठीले जानकारी दिइन् ।

रत्नलक्ष्मी मावि डुम्रीडाँडाका प्रधानाध्यापक बद्रीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिआरएमका अध्यक्ष ज्ञान पन्तले भर्चुअल माध्यमबाट शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । साथै कार्यक्रममा सिआरएमका कार्यक्रम संयोजक डाक्टर हेमलाल घिमिरे, उपाध्यक्ष इन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्