
कृषिमा क्रान्ति गर्नेलाई प्रोत्साहन गरौँ
गोरखा नगरपालिकाको वडा नं १४ गोर्बुङमा ‘गोरखा अर्गानिक हर्वल फर्म प्रालि’ दर्ता गरेर जडिबुटी खेती सञ्चालन गरिएको छ । त्यहाँका स्थानीयको आठसय रोपनी जमिन खरिद गरेर जैविक विविधताविद खेमराज भट्टराई नेतृत्वमा मणिध्वज जोशी, रामहरि सुवेदी र भगवती मैनालीको टिमले व्यवसायिक जडिबुटी खेती सुरु गरेको हो ।
सो फर्ममा पाखापखेरामा पाइने लाजवती, रुदिलो, अमला र भृङ्गीराजदेखि विश्व बजारमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने अगारउडसम्मका विभिन्न १०८ प्रजातिका जडिबुटी र फलफुल छन् । अमला मात्र दुईहजार बोट लगाएको छ । त्यहाँ यो वर्षदेखि अमला उत्पादन हुन थालेको छ । दुईबर्षभित्र ५० टन अमला उत्पादन गर्ने लक्ष्य सञ्चालकहरुको छ ।
करिब ६ करोड लगानीमा सुरु गरेको जडिबुटी फर्ममा अन्य विभिन्न जडिबुटी र फलफुलहरुले पनि उत्पादन दिन सुरु गरेका छन् । अबको दुईवर्षपछि यहाँका प्राय सबै जडिबुटीहरुले उत्पादन दिन थाल्छन् । यो ठाउँ काठमाडौं पोखरा राजमार्गको मस्र्याङ्दी बाँधबाट तीन किलोमिटर माथि अवस्थित छ । नेपालमा जडिबुटी खेतीसँगै कृषि पर्यटनको नयाँ अवधारणा विकास गर्ने सो टिमको योजना छ ।
यहाँ जडिबुटी खेतीसँगै अर्गानिक रिसोर्ट पनि संचालन गर्ने योजना समूहको छ । यहाँ आउने पाहुनाहरुलाई यहीँ उत्पादन भएका परिकार मात्र खुवाउने गरी विभिन्न प्रजातिका फलफुल र तरकारीहरु उत्पादन गर्न थालिएको छ । ‘यु पिक’ अर्थात ‘आफ्नो खाना आफै टिप’ भन्ने थिमसहित रिसोर्ट संचालन गर्ने तयारीमा संस्था लागेको छ ।
अबको केही वर्षभित्र ‘गोरखा अर्गानिक हरबल फर्म एण्ड एग्रो रिसोर्ट’ नाम दिएर रिसोर्ट संचालन गर्ने तयारी कम्पनीको छ ।यसरी उल्लेख्य क्षेत्रफलमा आयुर्वेदिक औषधीजन्य खेती गर्ने हिम्मत राख्नेलाई सबैले हौसला र प्रेरणा दिनुपर्छ । मन, वचन, कर्मले सहयोग पनि गर्नुपर्छ ।




