| मङ्लबार, कार्तिक २४, २०८३

गोर्बुङको बाँझो जमिनमा करोडौँको जडिबुटी खेती

प्रतीक्षा आले ।
जैविक विविधतामा विद्यावारिधि गरेका पोखरा कास्कीकोटका डाक्टर खेमराज भट्टराईले गोरखाको बाँझो जमिनमा जडिबुटी खेती गर्दै आईरहेका छन । भट्टराईले २०७५ सालदेखि गोरखा नगरपालिकाको वडा नं १४ स्थित गोर्बुङमा ‘गोरखा अर्गानिक हर्वल फर्म प्रालि’ दर्ता गरेर जडिबुटी खेती सञ्चालन गरेका हुन् ।

गोर्बुङको आठसय रोपनी जमिन खरिद गरेर त्यहाँ व्यवसायिक जडिबुटी खेती सुरु गरेको भट्टराईले बताए । मणिध्वज जोशी, रामहरि सुवेदी र भगवती मैनालीसँगको सहकार्यमा ब्यवसायिक जडिबुटी खेती सुरु गरेको उनले जानकारी दिए । ‘हाम्रो फर्ममा पाखापखेरामा पाइने लाजवती, रुदिलो, अमला र भृङ्गीराजदेखि विश्वमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने अगारउडसम्मका विभिन्न १०८ प्रजातिको जडिबुटी र फलफुल छन्’, उनले भने, ‘अमला मात्र दुईहजार बोट लगाएकोमा यो वर्षदेखि उत्पादन दिन थालेको छ । दुईबर्षभित्र ५० टन अमला उत्पादन गर्ने लक्ष्य छ ।’ करिब ६ करोड लगानीमा सुरु गरेको जडिबुटी फर्ममा अन्य विभिन्न जडिबुटी र फलफुलहरुले पनि उत्पादन दिन सुरु गरेको उनले बताएका छन् ।

उनी भन्छन्, ‘यो सुरुवाती चरण हो । अबको दुईवर्षपछि मात्र अमलाले व्यवसायी उत्पादन दिन सुरु गर्छ । अन्य जडिबुटीहरुले पनि बिस्तारै उत्पादन दिन्छ ।’ नेपालमा जडिबुटी खेतीसँगै कृषि पर्यटनको नयाँ अवधारणा विकास गर्ने योजना उनको छ । ‘जडिबुटी खेतीसँगै अर्गानिक रिसोर्ट पनि संचालन गर्ने योजना छ । यहाँ आउने पाहुनाहरुलाई यहीँ उत्पादन भएका परिकार मात्र खुवाउने गरी विभिन्न प्रजातिका फलफुल र तरकारीहरु पनि लगाएका छौँ ।

‘यु पिक्’ अर्थात ‘आफ्नो खाना आफै टिप’ भन्ने थिमसहित रिसोर्ट संचालन गर्ने तयारीमा छु’, उनले भने । अबको केही वर्षभित्र ‘गोरखा अर्गानिक हरबल फर्म एण्ड एग्रो रिसोर्ट’ नाम दिएर रिसोर्ट संचालन गर्ने तयारी रहेको उनको भनाइ छ ।
डाक्टर भट्टराई नेपाल सरकारको पूर्व सहसचिव हुन् । वि.सं. २०४८ सालमा बैज्ञानिक अधिकृतको रुपमा सेवा प्रवेश गरेका उनले जागिरको सबैजसो समय वनस्पति विभाग अन्तर्गतका विभिन्न निकायमा बिताए ।

नेपालको जैविक विविधता र यसको सम्भावनाबारे गहिरो अध्ययन भएका कारण उनलाई नेपालमा जडिबुटी खेतीको ब्यवसायिकरणका लागि धेरै काम गर्न सकिन्छ भन्ने लाग्थ्यो । तर सबै कुरा उनले सोचे र चाहे जस्तो हुन सकेन । ‘चाहे अनुसारको काम गर्न म आफ्नो दस्तखत चल्ने ठाउँमा पुग्नुपथ्र्यो, त्यो भनेको वनस्पति विभागको महानिर्देशक हो’, उनले भने, ‘तर क्षमता हुँदाहुँदै म भन्दा जुनियरलाई महानिर्देशक बनाइयो ।’

विभागको महानिर्देशक हुने र नेपालको जडिबुटी खेतीलाई नयाँ दिशा दिने वर्षौंदेखिको योजना पूरा नभएपछि जागिरबाट राजिनामा दिएको उनले बताए । ‘अलिअलि चित्त पनि दुख्यो, त्यसपछि नेपालमा बस्नै मन लागेन, युनिभर्सिटीतिर पढाउँछु र उतै बस्छु भनेर क्यानडातिर लागें’, उनी भन्छन्, ‘क्यानडामा पनि दुई वर्षभन्दा बढी बस्न सकिनँ, त्यहाँ पनि आत्मसन्तुष्टि र आत्मसम्मान नपाएपछि फेरि नेपाल फर्किएँ ।’

नेपालमा प्राकृतिक रुपमै उम्रने जडिबुटीको थोरै ब्यवसायिकरण गर्न सके मात्रै पनि देशको अर्थतन्त्रले कोल्टे फेर्न सक्छ भन्ने विश्वासका साथ गोरखा आएर जडिबुटी खेती सुरु गरेको उनको भनाइ छ । ‘गोर्बुङमा हिमाल, पहाड र तराईसम्मको हावापानी छ । मस्र्याङ्दी किनार माथितिरको भूभाग रहेकाले जडिबुटीका लागि हावापानीका हिसावले उत्तम भयो त्यसैले यतै आयौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्