| सोमवार, कार्तिक २३, २०८३

लैंगिक हिंसाविरुद्धको कार्यक्रम मात्र होइन, हिंसामुक्त बनाउने काम पनि गर

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । यसको मुख्य उद्देश्य लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतना जगाउनु र सामूहिक प्रतिबद्धता व्यक्त गर्नु हो ।

यसवर्ष पनि सरकारी र गैरसरकारी संघसंस्थाहरूले उत्साहका साथ यो अभियानलाई अगाडि बढाइरहेका छन् । तर, दशकौंदेखि चल्दै आएको यो अभियानको ढाँचा र प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्ने गरेको छ । अभियानको अवधिभर सहरका स्टार होटलहरूमा महँगा गोष्ठी, अन्तक्र्रिया र भड्किला कार्यक्रमहरू आयोजना गर्ने प्रवृत्ति अत्यधिक छ ।

यहाँ वक्ताहरूले लैंगिक हिंसाका तथ्याङ्क र समाधानका आकर्षक नाराहरू प्रस्तुत गर्छन् । प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्छन् र सञ्चार माध्यममा प्रचार गर्छन् । यस्ता कार्यक्रमहरूले अभियानको ‘ग्ल्यामर’ लाई त बढाउला, तर यसको वास्तविक मर्म र उद्देश्यलाई भने भड्काएको छ ।

विडम्बना यो छ कि जब हामी राजधानी वा मुख्य शहरका ठूला हलहरूमा लैंगिक समानताको बहस गरिरहेका हुन्छौं, त्यही समयमा देशका दूरदराजका गाउँघर, टोल र पिछडिएका समुदायहरूमा हिंसाको चक्र निरन्तर चलिरहेको हुन्छ । वास्तविक पीडा भोगिरहेका र अभियानको सन्देश सबैभन्दा बढी आवश्यक भएका लैंगिक हिंसाका सिकारहरू को अवस्था भने जस्ताको तस्तै छ ।

उनीहरूलाई न त यी १६ दिने कार्यक्रमहरूको भेउ हुन्छ, न त उनीहरूले राज्यले घोषणा गरेका राहत र न्यायका कार्यक्रमहरूबारे सुन्न पाउँछन् । भौतिक पहुँचको अभाव, चेतनाको कमी, सामाजिक लाञ्छनाको डर र न्यायिक प्रक्रियाको जटिलताले गर्दा गाउँका पीडितहरू पीडामुक्त हुन सकेका छैनन् ।

कार्यक्रमको ठूलो बजेट होटलको बिल, माला र खाजा–खानामै सीमित हुँदा, लक्षित समुदायको सशक्तीकरण र न्यायका लागि कार्यान्वयन पक्ष मा भने बजेट र ध्यान पुगेको छैन । तसर्थ लैंगिक हिंसाविरुद्धको यो अभियानलाई साँच्चिकै प्रभावकारी बनाउने हो भने यसको दिशा र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक छ ।

अभियान अब सहरकेन्द्रित होइन, गाउँ केन्द्रित हुनुपर्छ । सहरबाट निकालेर गाउँघर, टोल, र लक्षित समुदायहरूसम्म पु¥याउनुपर्छ । अभियानको मुख्य जोड हिंसा रोकथामसँगै पीडितलाई तत्काल राहत, निःशुल्क कानुनी सहायता, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयको प्रबन्ध गर्ने हुनुपर्छ । न्यायिक निकाय र स्थानीय तहबीचको समन्वयलाई बलियो बनाएर कार्यान्वयन पक्षमा जुट्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्