
मतदाता नामावली दर्ता गर्नेमा युवाको उत्साह प्रसंसनीय
प्रतिनिधिसभा निर्वाचन फागुन २१ आउन अब एकसयदिन बाँकी छ । नयाँ पुस्ताको चाहना अनुसार हुन लागेको यो निर्वाचनको अहिले देशभर चर्चा छ । चर्चा दुई किसिमको छ: क. साँच्चै चुनाब हुन्छ ? ख. चुनाब भए नतिजा कस्तो आउला ?
२००७ साल र २०४७ को परिवर्तनको नेतृत्व कांग्रेसले गरेको हुनाले त्यतिबेलाको निर्वाचनमा कांग्रेसको अग्रता थियो । २०६२/०६३ को परिवर्तन माओवादीको बलमा भएकाले चुनावी नतिजा पनि माओवादीको पक्षमा थियो । अहिलेको परिवर्तन नयाँ पुस्ताको बलमा भएकाले नतिजा नयाँ पुस्ताकै हुने एउटा नजिर छ तर, नयाँ पुस्ता धेरै चिरामा विभाजित भएकाले परिणाम कसैले पूर्वानुमान गर्न सक्ने अबस्था छैन ।
तर निर्वाचनको वातावरण बन्दै गएको छ । निर्वाचन आयोगले गृहकार्य तिब्र रुपमा गरिरहेको छ । गोरखास्थित जिल्ला निर्वाचन कार्यालयले सम्पन्न गरेको मतदाता नामावली संकलन कार्यक्रममा यहाँ सातहजार ७८५ नयाँ मतदाता थपिएका छन् । आयोगको निर्धारित कार्यतालिका अनुसार मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्म उक्त संख्यामा मतदाता थपिएका हुन् ।
गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको हो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो । उक्त अवधिमा गोरखामा कुल सात हजार ८७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङ्ख्या एक हजार ५५० रहेको छ । त्यस्तै, ६ हजार २३५ जनाले राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराएका छन् । यसअघिको निर्वाचनपछि र नयाँ दर्ता भएको समेत गरी गोरखामा मतदाताको संख्या कुल दुई लाख २० हजार ७६६ पुगेको सुवेदीले जानकारी दिए ।
नयाँ नामावली दर्ता गर्नेमा अधिकांश भर्खर बालिग(१८ बर्ष पुगेका) किशोर (जेनजी) उमेर समूहका छन् । विगतको तुलनामा यसपटक मतदाता नामावली दर्ता गर्नेमा युवा पुस्ताको उत्साह देखिएको छ । गोरखामा यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका थिए ।




