
केन्द्रीय प्रशारण लाइनको पहुँच बिस्तार गर
बिहीवार लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली बल्यो । लाइन बिस्तार भएको करिव चार बर्षपछि बल्ल बिद्युत प्रवाह भएको हो । जिल्लाका कतिपय ग्रामिण भेगमा केन्द्रीय प्रशारणको लाइन पुग्न सकेको छैन । लाइन पुगेका ठाउँहरुमा पनि बिजुली बलेका छैनन् । यसप्रति लाइन विस्तार र बिद्युत प्रवाहमा विद्युत प्राधिकरणले तदरुपता देखाउन सक्नुपर्छ ।
हुन त केही समय यता बिद्युत लाइन बिस्तारले तिव्रता पाएको देखिन्छ । लाइन बिस्तारसँगै सवस्टेशनहरु थपिदै गएका छन् । लघुजलबिद्युतलाई केन्द्रीय प्रशारणको लाइनले बिस्थापित गर्ने क्रम पनि क्रमश बढ्न थालेको छ । तर लाइन विस्तारसँगै सेवाको गुणस्तरमा पनि ध्यान दिनु उति नै आवश्यक छ ।
बिद्युत सेवाबारे जिल्लामा जनगुनासो पनि बढ्दो छ । बिना जानकारी बिद्युत जाने र बिद्युत अनियमितताले कहिले काही सेवाग्राहीलाई आक्रोशित पनि बनाउने गरेको देखिन्छ । लाइन विस्तारसँगै नयाँ उपकरण र प्रविधिलाई पछ्याउन कार्यालयले खासै सकेको देखिदैन । जसका कारण पनि बिद्युत प्रवाहमा बारम्वार समस्या आउने गरेको छ । अझ बर्खायाम र हावाहुरीको समयमा बिद्युत सेवाको त कुरै नगरौ, सेवाग्राही हैरान हुन्छन् ।
हुन त कहिलेकाँही प्राविधिक समस्या आउनु स्वभाविक हो । तर उही समस्या बारम्वार झेल्नुपर्ने अवस्था आयो भने त्यसको बिकल्प खोज्नुपर्छ, टालटुल र सामान्य मर्मतले मात्र नधान्न सक्छ । यसतर्फ पनि कार्यालय चनाखो रहनुपर्छ ।
जे होस् केन्द्रीय प्रशारण लाइन बिस्तारसँगै ग्रामिण भेगका स्थानीयलाई सहजता पनि थपिएको छ । बिद्युतकै कारण अन्य सेवासुविधा उपभोग गर्न पाएका छन् । त्यसैले जिल्लाका सबै भेगमा केन्द्रीय प्रशारण लाइन बिस्तार गरी गुणस्तरीय सेवा प्रवाहमा प्राधिकरणको ध्यान केन्द्रीत होस् ।




