| सोमवार, कार्तिक २३, २०८३

चोरीका मोटरसाइकल लक्षित ट्राफिक प्रहरीको छड्के चेकजाँच सुरु

मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले जिल्लामा छड्के चेकजाँच सुरु गरेको छ । ग्रामिण भेग लक्षित गरी चेकजाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘ट्राफिक प्रहरीको पहुँच नभएका ठाउँहरुलाई फोकस गरेका छौँ,’ जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरज अर्यालले भने, ‘दुइ÷तीन दिन आरुघाटबाट सोती हुदै उत्तरी गोरखाको माछाखोलासम्म छड्के चेकजाँच ग¥यौँ ।’ सो क्षेत्रमा पठाओको रुपमा चोरीका बाइकहरु चल्ने सूचना आएपछि निगरानी बढाइएको उनले जानकारी दिए ।

चेकजाँचको क्रममा ट्राफिक प्रहरीले सोती बजार नजिकै बेवारिसे अवस्थामा फेला पारेको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । ‘ग १७ प २३९० नम्बरको बाइक सडक छेउमा चावी फुटाएको अवस्थामा लामो समयदेखि बेवारिसे भएर बसेको रहेछ, हामीले नियन्त्रणमा लिएका छौँ,’ अर्यालले भने । उक्त बाइक चोरीको भए नभएको अनुसन्धान भइरहेको उनले बताए ।

चेकजाँचको क्रममा १३ वटा सवारी साधन कारवाहीमा परेका छन् । सवारी नियम उल्लंघन गरेवापत उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा एउटा स्करपिओ, दुई वटा बोलेरो र बाँकी मोटरसाइकल छन् । ‘बढी भाडा लिन्छन् भन्ने गुनासो पनि थियो त्यो पनि हामीले निगरानी ग¥यौ, तर त्यस्तो भेटिएन,’ उनले भने । चेकजाँचसँगै ट्राफिक नियमबारे सचेत समेत गरिएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा छड्के चेकजाँच गरेको हो । चेकजाँचमा इप्रका आरुघाटका प्रमुख प्रहरी निरीक्षक अनिल श्रेष्ठको नेतृत्वमा प्रहरी र जिल्ला ट्राफिक इन्चार्ज अर्याललको नेतृत्वमा ट्राफिक प्रहरी खटिएका थिए । अन्य क्षेत्रमा पनि चेकजाँचले निरन्तरता पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्