
फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दाको मिसिल मगाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा दर्ता भएको मुद्दाको मिसिल झिकाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र नृपध्वज निरौलाको इजलासले उक्त मुद्दामा मिसिल झिकाउन आदेश दिएको हो ।
सर्वोच्चमा कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दा तीन वर्षदेखि विचाराधीन छ । यो मुद्दामा २०८१ वैशाख १२ मा सरकारसहित सबै प्रतिवादीहलाई पेसीको सूचना दिने आदेश गरेको थियो । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले यस्तो आदेश गरेको थियो । त्यसपछि यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
गोरखाका कृष्णप्रसादको हत्या २०६१ सालमा चितवनमा भएको थियो । तत्कालीन समयमा द्वन्द्वरत पक्ष नेकपा माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोपमा एकपछि अर्को अदालतमा मुद्दा चलिरहेको छ । अधिकारीका बुबा नन्दप्रसाद अधिकारीले केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिएसँगै जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा सुरु भएको थियो ।
आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेलसहित १२ जना संलग्न रहेको भन्दै नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले लगाएको मुद्दामा चितवन जिल्ला अदालतले २०७५ सालमा सबै प्रतिवादीलाई सफाइ दिएको थियो ।
उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।




