
श्रीनाथ मण्डली न्वागी मेला सम्पन्न
सिरानचोक श्रीनाथ मण्डली न्वागी मेला विविध कार्यक्रम गरी मनाइएको छ । मेलाको अवसरमा भएको खैजडी भजन प्रतियोगितामा सनातन हिन्दु धर्म मिरकोट पहिलो भएको छ । भन्सार भजन मण्डली जौवारी दोस्रो र सिर्जनशिल भजन मण्डली गोहोरे तेस्रो भएको आयोजक श्रीनाथ मण्डली तथा कोट बिकास समितिले जनाएको छ ।
उनीहरुले क्रमश २५ हजार, १५ हजार ८ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा कुल ९ समूहको सहभागीता रहेको थियो । मेलाको अवसरमा छेलो प्रतियोगिता समेत भएको छ । प्रतियोगितामा लम्जुङको दोर्दी गाउँपालिकाका अमिस गुरुङ पहिलो र सिरानचोक गाउँपालिका–१ का चौराज गुरुङ दोस्रो भएका छन् ।
उनीहरुलाई दश हजार र पाँच हजार नगद पुरस्कार दिइएको श्रीनाथ मण्डली तथा कोट बिकास उपसमिति काठमाडौंका अध्यक्ष एवं मेला संयोजक रेनबहादुर गुरुङले बताए । गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा राष्ट्रिय कलाकार चिज गुरुङ, निर्जला गुरुङ, जिदान गुरुङ लगायतको सांगितिक प्रस्तुती समेत रहेको थियो ।
कोट बिकास समिति अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।




