| सोमवार, कार्तिक २३, २०८३

विद्युत महसुल नतिरेपछि बिरिमकाली खानेपानी आयोजनाको विद्युत लाइन काटियो

लामो समयसम्म विद्युत महसुल नतिरेपछि बिरिमकाली खानेपानी आयोजनाको बिद्युत लाइन काटिएको छ । महसुल तिर्न पटक पटक आग्रह गर्दा अटेर गरेकाले आइतवार लाइन काटिएको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

‘पैसा नतिरेर दुई/तीन महिनाअघि पनि हामीले आयोजनाको लाइन काटेका थियौ,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘त्यो बेला तिर्छु भनेर प्रतिवद्धता गरे अनि जोडिदियौ तर आजका दिनसम्म तिर्न आएनन्, त्यसैले फेरि लाइन काटिदिएका हौ ।’
लाइन काटेसँगै आइतवार आयोजनाले केही बक्यौता रकम तिरेको छ । कुल दुई लाख बक्यौता रकममध्ये एक लाख तिरेको कार्यालय प्रमुख गुरुङले बताए ।

‘उहाँहरुको दुई लाख जति बक्यौता रकम थियो, हामीले लाइन काटिदिएपछि आज एक लाख तिर्नुभयो,’ उनले भने, ‘बाँकी रकम एक हप्ताभित्र तिर्ने प्रतिवद्धता गरेपछि आजै लाइन जोडिदियौ ।’ एक हप्ताभित्र बाँकी रकम नतिरे पुनः लाइन काटिदिने कार्यालयले चेतावनी दिएको छ । बिशेष गरि गोरखा नगरपालिका वडा नम्वर ११ सँगै १० र १२ का स्थानीयलाई पानी वितरण गर्दै आएको यस आयोजना यसअघि पनि पटक पटक विवादमा मुछिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्