| सोमवार, कार्तिक २३, २०८३

मनास्लु पदमार्गको स्तरोन्नती आवश्यक

पर्यटकको रोजाईको केन्द्रविन्दुमध्ये मनास्लु पदमार्ग पनि एक हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण एक अनुपम गन्तव्यको रुपमा चिनिएको उत्तरी गोरखालाई मनास्लु पदमार्गले अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा स्थापित गरेको छ । यद्यपि, यस क्षेत्रको पर्यटनलाई दिगो र भरपर्दो बनाउन पदमार्गको स्तरोन्नतीमा तत्काल ध्यान दिनु अपरिहार्य छ ।

पदमार्ग नै यस क्षेत्रको अर्थतन्त्रको मेरुदण्ड हो । पर्यटकहरूको सहज र सुरक्षित आवागमनले मात्र स्थानीय समुदायको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्न सक्छ । तर, वर्षैपिच्छे आउने वर्षा, हिमपात र पहिरोका कारण पदमार्गहरू क्षतविक्षत भइरहेका छन् । साँघुरो पदमार्ग त्यसमाथि जोखिमपूर्ण यात्राका कारण बर्षेनी पर्यटकको यस क्षेत्रमा ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

यो बर्षपनि यस्तै घटना पुनः दोहोरियो । केही पर्यटक पहिरोमा पुरिए केही हिमपातमा । केही घाइते भए । साँघुरो बाटो र जोखिमयुक्त भिरपहरासँग बच्दै यस क्षेत्रमा यात्रा गर्नुपर्ने बाध्यता छ । बर्षेनी पहिरो र भू–क्षयले बाटो भत्काउँदा पर्यटकहरूले सास्ती खेप्नुपरेको छ । ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था सृजना हुने धेरै स्थानहरु छन् । यसले नेपालको पर्यटन सुरक्षा र विश्वसनीयतामा नकारात्मक असर पार्छ । सूचना केन्द्र तथा स्वास्थ्य सुरक्षाका प्राथमिक सुविधाहरू अझै अपर्याप्त छन् ।

जोखिमयुक्त क्षेत्रमा भरपर्दो सुरक्षा पर्खाल लगाउने कामलाई प्राथमिकता दिनुपर्छ । पदमार्गमा चाप बढ्दै जाँदा पदमार्ग स्तरोन्नतीमा पनि ध्यान दिनु जरुरी छ । कतिपय स्थानमा मोटरबाटो निर्माणले परम्परागत पदमार्गहरू मेटिँदै जाँदा पैदल यात्राको अनुभवमा ह्रास आइरहेको छ । पदमार्ग र मोटरबाटोको सन्तुलित व्यवस्थापन पनि उत्तिकै आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्