
शारीरिक रुपमा अशक्त शन्तोषले घरैमा पाए नागरिकता
शारीरिक रुपमा अशक्त २८ वर्षका शन्तोष श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले घरैमा नागरिकता वितरण गरेको छ । गोरखा नगरपालिका–३ घलाङका श्रेष्ठको घरमै पुगेर शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नागरिकता प्रदान गरेका हुन् ।
श्रेष्ठलाई प्रशासन कार्यालयसम्म आएर नागरिकता बनाउन असहज हुने भएकाले घरैमा पुगेर नागरिकता दिएको सहायक प्रजिअ बरालले बताए । २०५४ साल पुष १ गते जन्मिएका उनी बुबा पृथ्वी नारायण श्रेष्ठ र आमा पम्फा श्रेष्ठको जेठो सन्तान हुन् । हिँड्डुल गर्न र बोल्न समेत नसक्ने शन्तोषसँग ‘क’ वर्गको अपाङ्गता परिचयपत्र छ । नागरिकता नहुँदा बैंक मार्फत पाउने सामाजिक सुरक्षा भत्ताका लागि समस्या भएको उनका बुबा पृथ्वीनारायण श्रेष्ठले बताए ।
वडामा नारिकताको सिफारिस लिन पुगेका श्रेष्ठलाई वडाध्यक्ष चुलबहादुर कुँवरले प्रशासनसँगको सहकार्यमा घरैमा नागरिकता दिने बातावरण मिलाएका हुन् । शन्तोषको घरमा बुबा पृथ्वीनारायण र २१ वर्षकी बहिनी स्वस्तिका श्रेष्ठ छिन् । आमा पम्फा श्रेष्ठको भने आठ वर्षअघि दम रोगका कारण निधन भएको शन्तोषकी बहिनी स्वस्तिकाले बताइन् । ‘आमा बितेपछि म र बुबाले नै हो दाईको स्याहार गरेको’, उनले भनिन्, ‘दाईलाई सुताउने, उठाउने, खुवाउने सबै गर्नुपर्छ । दाईलाई हेर्नुपर्ने भएर एकजनाले घरै छोड्न मिल्दैन ।’ उनीहरुको बुबा पृथ्वी नारायण गाउँघरतिर सामान्य मिस्त्रीको काम गर्छन् ।
शन्तोषको बैंकमा खाता खोल्न नागरिकता आवश्यक परेको र जिल्ला प्रशासनसम्म लैजान समस्या भएको बुबा पृथ्वीनारायणले बताए । प्रशासनको टोलीले घरैमा पुगेर नागरिकता दिएपछि उनले खुसी ब्यक्त गरेका छन् । यसअघि पनि प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधिको टोलीले पूर्ण अपाङ्गता भएकाहरुलाई घरैमा पुगेर नागरिकता बितरण गर्दै आएको छ । नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु नपरोस भन्ने ध्येयले घरैमा लगेर नागरिकता दिइएको सहायक प्रजिअ बरालले बताए ।




