| सोमवार, कार्तिक २३, २०८३

अनुगमन टोलीद्वारा गोरखा मेला स्थलबाट हानिकारक रङ जफत

गोरखा चेम्बर अफ कमर्शको आयोजनामा सदरमुकामको खेलकुद मैदानमा जारी ‘कृषि पर्यटन तथा व्यापार प्रवद्र्धनमेला २०८२’मा राखिएका स्टलका सामग्रीहरुको अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख अमर नेपालीको संयोजकत्वमा बुधबार अनुगमन गरिएको हो ।
मेलाभित्र राखिएका विभिन्न सटलहरुको अनुगमन गरिएको उनले बताए । अनुगमनको क्रममा केही खाद्य स्टलहरुले खानाको परिकारमा हानिकारक रंग मिसाएको पाइएको उनले जानकारी दिए । नेपालीका अनुसार अनुगमन समितिले व्यापारीहरुबाट अखाद्य रंगहरु जफत गरेको छ ।

‘धैरैजसोले मूल्य सूची राखेका छैनन् । स्टलमा साईन बोर्डहरु पनि देखिएन् । केही व्यवसायहरुले व्यवसाय नै दर्ता नगरी स्टल राखेको पाइयो’, उनले भने, ‘खानाको स्टलहरुमा लामो समयसम्म एउटै तेल प्रयोग गरेको पनि पाएका छौँ । व्यवसायीहरुलाई त्यसो नगर्न आग्रह गरेका छौँ ।’ खाद्य सामग्रीहरुअसुरक्षित ढंगले कपडाले नछोपी राखेको पाइएको उनले बताएका छन् ।
उनले भने, ‘हामीले व्यवसायीहरुलाई नियमसम्मत् सबै प्रावधानहरु पूरा गरेर मात्र व्यवसाय गर्न आग्रह गरेका छौँ ।’

खानेकुरा राख्न पत्रपत्रिका वा मसीयुक्त कागजका पाना प्रयोग गर्न नहुने खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले बताएका छन् । ‘खानेकुरा राख्न तथा पोको पार्न सादा पेपर, अल्मुनियम कन्टेनर, सफा टपरा पात वा बटर पेपर प्रयोग गर्न निर्देशन दिएका छौँ’, उनले भने । खाद्य अनुसन्धान अधिकृत आचार्यका अनुसार मेला महोत्सव आयोजना गर्दा सफा, स्वच्छ, खाद्य अनुमति प्राप्त गरेका प्याकेटका खाद्य पदार्थ मात्र राख्नुपर्छ । मह, अचार, मसला जस्ता बट्टा बन्द गरेका रैथाने र किसानका उत्पादनलाई उत्पादन गरेर प्याक गरेको मिति, मूल्य, स्रोत ल्याएको स्थान, तौल जस्ता आधारभुत कुराहरु टाँस गरेर राख्नुपर्ने उनको भनाइ छ । आचार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका कार्यालय प्रमुख हुन् ।

पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख अमर नेपालीको संयोजकत्वमा गएको अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका खाद्य निरीक्षक सन्तोष थापा मगर, कार्यालयकी प्राविधिक सहायक अनुशा खरेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, गोरखा चेम्बर अफ कमर्श लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्