| सोमवार, कार्तिक २३, २०८३

फोहरबाट अब बन्छ सुन्दर सिर्जना

कोही व्यक्ति फोहर भनेपछि पर भाग्ने गर्छन् । कोही भने के फोहर, के सफा सुग्घर मतलबै गर्दैनन् । गोरखामा फोहरसंग सम्बन्ध राख्ने तेस्रोथरी व्यक्ति पनि तयार भएका छन् । पर्यटकले भरिभराउ हुने मनास्लु क्षेत्रमा त्यस्ता जनशक्ति तयार भएका हुन् जो, फोहरबाट सुन्दर सिर्जना गरेर आयआर्जन गर्न सरिक हुन थालेका छन् ।

पृथ्वीमै फोहरको प्रमुख कारक बनेको प्लास्टिकबाट विभिन्न बस्तु सिर्जना गर्न मनास्लुका बासिन्दा उद्धत भएका हुन् । फोहरलाई सदुपयोग गर्न उनीहरुले ‘बिकारबाट आविष्कार’ भन्ने मूल नारा प्रयोग गर्ने गरेका छन् । ‘विदेशी पर्यटक हिँड्ने ठाउँ हो । यसलाई जतिसक्दो राम्रो बनाउनु पर्ने हो तर जताततै प्लास्टिकले फोहर बनाएको छ । यसलाई कसरी सफा गर्ने भन्ने उपाय खोजी गरिरहेका थियौँ’, चुमनुब्री गाउँपालिका ३ फिलिमस्थित महिला समूहकी अध्यक्ष कालीमाया गुरुङले भनिन्, ‘खेर गइरहेको फोहर प्लास्टिकबाट फूल बनाउन पनि सकिने रहेछ । डोरी बनाउन सकिने रहेछ । पानीका बोत्तलहरुमा फोहर प्लास्टिक कोचेर गमला, मुढा बनाउन सकिने रहेछ । जान्यो भने त उपाय नै उपाय रहेछ ।’

बोतलको टाउको र फेद भागलाई जोडेर कपहोल्डर लगायत सामग्रीहरु बनाई घरको सानातिना सामानहरुलाई राख्न सकिने तालिममा सिकेको उनले बताइन् । त्यस्तै प्लास्टिकको बोराबाट बिभिन्न रंगको माला बनाउन सकिने तालिम आफूहरुले पाएको उनले बताइन् । पर्यटकीय क्षेत्रलाई सफा, सुन्दर, हराभरा बनाउने उद्देश्यले पर्यटन विभागले स्थानीय साझेदार संस्था एकिकरण नेपालसंग समन्वय गरी मनास्लु क्षेत्रमा ‘दीर्घकालीन फोहरमैला व्यवस्थापन तालिम’ सञ्चालन ग¥यो । सो क्षेत्रको जगत, फिलिम र पाङसिङमा तालिम सञ्चालन गरेपछि महिलाहरु प्लास्टिकबाट विभिन्न सामग्री बनाउन हौसिएका हुन् ।

विशेषगरी प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन गर्न पर्यटकीय क्षेत्रका बासिन्दालाई तालिम दिइएको एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए । ‘फोहोरजन्य बिकारबाट आविष्कार गर्न सकिन्छ’, उनले भने, ‘फोहोर आफैमा फोहोर होइन । यसलाई प्रयोग गर्न नजानेर बेकार भएको हो । सीप सिकेपछि फोहर पनि मोहर बन्छ ।’ २ दिनको तालिममा स्थानीयले खानेपानीको बोतल, कोकको बोतलवाट डोरी बनाउन, कुचो बनाउन सिकेका छन् ।

तालिम अत्यन्त फलदायी भएको स्थानीय महिला समूहकी अध्यक्ष संगीता गुरुङ बताउँछिन् । झण्डै १ बोरा भन्दा धेरै खेरा गएका प्लास्टिकहरु एउटै बोत्तलमा अटाउने भएकाले अब चाउचाउ, चकलेट, बिस्कुटको खोलहरु, प्लास्टिकका बोराहरु बोत्तलमै कोचेर गमला, मुढा बनाउन सकिने उनले बताइन् । ‘मैले गाउँले सबैलाई अब प्लास्टिक नफाल्नु भनिसकेको छु । हामीले मेसिन पाएपछि खेर गएको प्लास्टिकबाट धेरै सामान बनाएर आफू पनि प्रयोग गर्न सकिन्छ । बेचेर पैसा कमाउन पनि सकिन्छ भनेको छु’, उनले भनिन् । हामीले तालिम त कति लियौँ गनेर साध्यै छैन तर यो तालिम असाध्यै काम लाग्ने रहेछ । धेरै नयाँ काम सिकियो ।’

गाउँलेले मेसिन किन्न नसक्ने भएकाले संस्थाबाट मेसिन आउने आशामा बसेको उनले बताइन् । ‘तालिममा सिकेको बस्तु बनाउन मेसिन चाहिने रहेछ । संस्थाले मेसिन पनि दिन्छु भनेको छ । मेसिन पाएपछि सबैजनाले यस्ता सामानहरु बनाउँछन्’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्