
जेन–जी आन्दोलनका घाइतेहरुलाई गोरखा प्रशासनले परिचयपत्र दिने
जिल्ला प्रशासन कार्यालय गोरखाले जेन–जी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ । आइतबार सूचना जारी गर्दै कार्यालयले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा घाइते भएका ८ जनालाई घाइते परिचयपत्र प्रदान गर्ने जनाएको हो ।
साथै, उनीहरुलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्चबापतको २० हजार रुपैँया समेत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । जेन–जी आन्दोलनका क्रममा घाइते भएका गोरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, धु्रव परियार, कुमार अधिकारी र दिवसबाबु श्रेष्ठलाई नगद र घाइते परिचयपत्र वितरण गरिने सहायक प्रजिअ बरालले जानकारी दिए ।
‘सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पछि नीति बनाएर सेवासुबिधा दिनसक्छ भनेर अहिले यो घाइते परिचयपत्र वितरण गर्न लागेका हौँ’, उनले भने । अन्य जिल्लाहरुले पनि जेन–जी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरण गर्न पहल सुरु गरेको उनको भनाइ छ ।




