| शुक्रबार, बैशाख १७, २०८३

आँबुखैरेनीमा सञ्चालित महायज्ञमा २ करोड ५० लाख रुपैयाँ दान संकलन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी ३ अमिलीबोटे(हाटबजार)मा सञ्चालित मेलामा अढाइ करोड रुपैयाँ संकलन भएको महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

मन्दिरको विकास, पर्यटन प्रवद्र्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट रु दुई करोड ५० लाख सङ्कलन गरिएको उनले जानकारी दिए । यही कात्तिक ८ देखि १५ गतेसम्म भएको महायज्ञ अवधिभर तीन परिवार र एक संस्थाले रु पाँच लाखभन्दा धेरै दान दिएका उनले बताए । आँबुखैरेनी गाउँपलिका–३ निवासी अणमान श्रेष्ठ र सरस्वती श्रेष्ठले रु पाँचलाख ११ हजार १११ दान दिएका थिए ।

यसैगरी अमृत केसी र गोमा केसीले रु पाँच लाख पाँच हजार ५५८, महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङ र इन्द्रमाया तामाङले रु पाँचलाख एक हजार १०१ र आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीले रु पाँचलाख ५५ हजार ५५५ दान गरेका थिए ।

छिम्केश्वरी पर्यटन विकास समितिले सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभा हल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ । समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिमकेन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्राम गृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ ।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेलको प्रवचन रहेको थियो । समुद्र सतहदेखि २,१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक विश्वासअनुसार गोरखाको मनकामना माईकी दिदीका रूपमा यहाँको छिम्केश्वरी र बूढीमाईलाई चिन्ने गरिएको छ । यहाँगरिने पूजा तथा दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्