| सोमवार, कार्तिक २३, २०८३

गरिबीमा हाँसीखुशी चेपाङ बालबालिका

पाँचबर्षपछि त्यहाँ पुग्दा भिरालो पखेरामा बाँसको कप्टेराले चारैतिर बारेको, कटुसको स्याउलाले छाएको टहरो कतै देखिएन । बरु त्यही जमिनमा ढुंगामाटोको गारो अनि जस्ताले छाएको एक कोठे घर उभिएको देखियो । त्यो पनि आलो माटोले लिपेको भर्खर बनेजस्तो देखिन्थ्यो ।

टहरोबाट सानै भएपनि घरमा सर्न पाउँदा पवित्रा चेपाङको भुइँमा खुट्टा छैन । अर्थात तला नभएको साँगुरो झुप्रोमा बस्दै आएकी उनी अहिले तला भएको घर पाएपछि भुइँमा बस्दिनन्, माथिल्लो तलामा मात्रै बस्छिन् । १३ बर्षकी पवित्रामात्र होइन, उनकी १० बर्षकी बहिनी सिर्जना, ७ बर्षकी प्रमिला, ६ बर्षकी निशा र ४ बर्षकी बहिनी पूजा पनि उनीसंगै लस्करै माथिल्लो तलामा खेलिरहन्छन् । यो घर आफ्नै हो भनेर दावी गर्न प्रमिलाले कापीको पानामा निलो मसीले लेखेर भित्तामा माटाले टालेकी छिन्, ‘प्रमिलाको घर’ ।

पाँचै दिदीबहिनी औधी मिल्छन्, साथीजस्ता । उनीहरुको एउटै स्वभाव छ, विद्यालय समयभन्दा अघि वा पछि फुर्सद हुँदा पनि कहिल्यै गाउँ चाहार्दैनन् । गाउँका दवँलोलाई उनीहरु चाहियो भने यतै धाउँछन् । पोहरसम्म उनीहरु बाँसको कप्टेराले बारेको घरमा बस्थे । बुबा वुद्ध चेपाङले ४८ बर्षको उमेरसम्म हाडछाला घोटेको कमाइले बल्लतल्ल यसबर्ष ढुंगामाटोले बनेको एक कोठे घर सिर्जिए । घरमा राख्ने अन्नबाली, लुगाकपडा नभए पनि ओत लाग्ने घर पाएका थिए ।

हावाहुरी चल्दा, पानी पर्दा बस्न नसकिने टहरोबाट अब अलिअलि भए पनि पक्की घरमा बस्न पाएपछि अहिले सबै परिबार खुशी छन् । ९० हाराहारीका बाजेलाई भने घर बनेकामा हर्ष न बिस्मात किनभने, उनको बास उनी मात्र अटाउने सानो कटेरोमा थियो । ओछ्यानबाट उठ्न नसक्ने उनलाई आँगनको छेउमा बस्न, उभिन नमिल्ने छाप्रोमा थन्क्याएका थिए ।

‘चामल यी यहाँ छ’, फरासिली सिर्जना उत्साहित हुँदै बोरा देखाउन दौडन्छिन् । चामल पिँधमा देखेपछि लजाउँदै भन्छिन्, ‘यो सक्किएपछि फेरि बाबाले अर्को बोरा ल्याउँछ ।’ आफ्नो बारीको उब्जनीले एक महिना पनि नधान्ने उनीहरुको प्राण यही बोराले धानेको छ । बुबा आमालाई दुख छ भन्ने जानेर उनीहरुमा कुनै रहर जाग्दैन ।

‘मिठो खान पनि माग्दैनन् । जे खान दियो त्यही खान्छन् । राम्रो लगाउन पनि माग्दैनन् । जस्तो दियो त्यस्तै लगाउँछन् । पाँचवटै छोरीहरु उस्तै छन्’, वुद्ध चेपाङ भन्छन्, ‘बाहिर जति दुख भए पनि घरभित्र छोरीहरुसंग बस्न आनन्द छ ।’ पाँचै दिदीबहिनी एकघण्टाको बाटो पर गोर्दीमा रहेको जनजागृति आधारभूत विद्यालयमा पढ्छन् । स्कूल टाढा भए पनि उनीहरु नबिराइकन कक्षामा हाजिर हुन्छन् ।

पाँचबर्षअघि त्यहाँ पुग्दा पवित्राबाहेक उनीहरु धुलो माटोमा निर्वस्त्र भएर खेलिरहेका भेटिन्थे । उमेर बढ्दै गएपछि अहिले उनीहरु आङ ढाक्ने कपडामा भेटिन्छन् । पर्याप्त खाना, पर्याप्त लुगा कपडा नभए पनि सुखी र खुशी देखिन्छन् । ‘मोबाइल त कहाँ खेलाउन पाउनु ?’ फरासिली सिर्जना हाँस्दै भन्छिन्, ‘बुवासंग एउटा टिकटिके फोन छ । नम्बर पनि थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्