| बुधबार, असार ९, २०८३

पालुङ्टारले युवामा गरेको ऋण लगानी सात बर्षमा पनि उठेन, बन्द भयो कार्यक्रम

प्रतीक्षा आले ।
पालुङटार नगरपालिकाले युवाहरुलाई व्यवसाय संचालनका लागि गरेको कर्जा लगानी सातबर्षसम्म पनि उठेको छैन । बेरोजगार युवालाई स्वरोजगार गर्न प्रेरित गराउने उद्देश्यले सञ्चालन गरेको स्वआर्जन प्रवद्र्धन कोष आयोजना असफल भएको हो ।
२०७५ सालदेखि सुरु गरिएको सो कार्यक्रमको दुई करोड रुपैँया लगानी अझैँ उठ्न नसकेको योजना शाखाका धनेन्द्र श्रेष्ठले जानकारी दिए । गरिएको लगानी अनुत्पादक भएको र ऋण पनि नउठेपछि कार्यक्रमलाई असफल मानिएको उनले बताए ।
तत्कालीन नगरप्रमुख दीपकबाबु कँडेलको टिमले युवाहरुलाई न्यूनत्तम व्याजदरमा ऋण दिएर स्वरोजगार बनाउने उद्देश्यले २०७५ साल पुस २० गतेदेखि सो कार्यक्रम लागु गरेको थियो ।
आयोजनाअन्तरगत पालिकाबाट सहुलियत व्याजमा ऋण लगेकाहरुले रकम फिर्ता नगरेपछि हालसम्म पनि लगानी उठ्न नसकेको योजना शाखाका धनेन्द्र श्रेष्ठले बताए । उनका अनुसार पालुङटार नगरपालिकाले स्वआर्जन प्रवद्र्धन कोष आयोजनाको नाममा चार करोड ३० लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । ‘दुई प्रतिशत व्याजदरमा पालिकाले विषेशगरी युवाहरुलाई कर्जा लगानी गरेको थियो’, उनले भने । व्यक्ति तथा समूह गरेर करिब ३०० जनालाई पालिकाले कर्जा दिएको उनले जानकारी दिए ।
जसमध्य हालसम्म जम्मा १०० जनाले मात्र पूरा रकम चुक्ता गरेका छन । ‘प्रायले थोरै थोरै रकम तिरेर छोडेका छन् । हालसम्म साँढे दुई करोड रुपैँया उठेको छ । ३०–४० जना यस्ता छन् जसले अहिलेसम्म एक किस्ता पनि तिरेका छैनन्’, पालिकाको रोजगार शाखाका श्रेष्ठले भने, ‘लगानी गरेको रकम उठाउन पालिकाले विभिन्न बैठक राखेर छलफल गर्नुका साथै पटक पटक सूचना पनि प्रकाशन गरिसकेका छ । ऋण लैजानेहरुलाई फोन सम्पर्क पनि गर्ने गरेका थियौँ तर रकम भने उठेको छैन ।’
२०७५ पुस २० गते प्रमाणित भएको स्वआर्जन प्रवद्र्धन कोष आयोजनाले २०७८ सालसम्ममा चार करोड ३० लाख रुपैँया लगानी गरेको पालिकाको अभिलेखमा उल्लेख छ । पालिकाले स्वआर्जन प्रवद्र्धन कोष आयोजनामार्फत प्रतिव्यक्ति ५० हजारदेखि ६ लाखसम्म लगानी गरेको योजना शाखाका धनेन्द्र श्रेष्ठ बताउँछन । ‘२०७८ देखि २०७८ सम्मममा ऋण लगेकाहरु सबैको रकम तिर्नुपर्ने म्याद पनि गुज्रिसकेको छ’, उनले भने, ‘यो कार्यक्रमका लागि २०७९ मा नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि बजेट बिनियोजन गरेको थियो तर पहिलेको रकम नउठेकाले फेरि लगानी गरेनौँ ।’ लगानी गरेको रकम नउठ्ने भएपछि पालिकाले कार्यक्रम नै बन्द गरेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्