
मनास्लु क्षेत्रमा घाइते पर्यटकको दुईदिनसम्म उद्धार हुन सकेन
मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका एक पर्यटकको दुईदिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका टोखा ६ काठमाडौँका मिनुइन्द्र लम्सालको दुईदिनसम्म उद्धार हुन नसकेको हो ।
प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो ठाउँमा सडक सञ्जाल पुगेको छैन । ‘टाउकोमा गम्भीर चोट छ । झन् जोखिम हुने भएकाले मान्छेले बोकेर ल्याउन पनि सकिएको छैन । मौसक प्रतिकूल हुँदा हेलिकोप्टर जान पनि सकेको छैन’, डिएसपी राजकुमार श्रेष्ठले भने ।
टाउकोमा ज्यादै ठूलो चोट लागेको उनको बिही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाले जानकारी दिइन् । ‘टाउकोमा धेरै गहिरो चोट लागेको छ । रगत बान्ता गर्नुभएको छ’, उनले भनिन्, ‘बिरामी धेरै गम्भीर हुनुहुन्छ तर उद्धार हुन सकेको छैन ।’
बिहिबार बिहान नौ बजेतिर सामागाउँबाट फर्कने क्रममा चुमनुब्री ४ बुर नजिकैको पहिरोमा भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर ४४ बर्षका लम्साल गम्भीर घाइते भएका थिए ।
सो टोलीमा घाइते ४४ बर्षका मिनुइन्द्र लम्साल, विशाल लम्साल र दीपेन्द्र न्यौपाने रहेका छन् ।




