
केही दिन पदयात्रामा नजान गोरखा प्रशासनको आग्रह
जिल्लाको हिमाली क्षेत्रमा केही दिन पदयात्रा नगर्न गोरखा प्रशासनले आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण विपदजन्य घटना हुने सक्ने भन्दै पदयात्रामा नजान आग्रह गरिएको हो ।
मंगलवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले मनास्लु पदमार्गमा यात्रा गरिरहेका पर्यटकहरुलाई सुरक्षित स्थानमा बस्न समेत आग्रह गरेको छ । मौसम सुधार भएपछि मात्र पदयात्रामा निस्कन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
‘जल तथा मौसम बिज्ञान बिभागको प्रक्षेपण अनुसार हाल देशमा पश्चिमि वायुको साथै अरब सागरबाट बनेको न्यून चापीय प्रणालीको प्रभावले वुधवारसम्म पानी र हिमपातको सम्भावना रहेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘त्यसैले मौसम सुधार नभएसम्म हिमाली भेगको पदयात्रामा नजान भनेका हौ ।’
मौसम सुधार भएपछि मात्र खेतिवाली भित्र्याउने काम गर्न कृषकहरुलाई अनुरोध समेत गरिएको उनले जानकारी दिए ।
अहिले गोरखाको अधिकांश ठाउँमा सामान्य बर्षासँगै उत्तरी गोरखाको बिभिन्न ठाउँमा हिमपात समेत भइरहेको छ ।




