| सोमवार, कार्तिक २३, २०८३

व्यवसायिक कृषि पेशालाई प्रवद्र्धन गरौँ

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित पाखो जग्गामा कालो हलेदो खेती गर्न सुरु गरिएको छ । स्वास्थ्यका दृष्टिकोणले अतिउत्तम मानिने कालो हलेदो बिगत एकबर्षअघिदेखि खेती गर्न सुरु गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष यादव बस्नेत र व्यवसायी कविता अर्यालले स्थापना गरेका बी एण्ड बी कृषि फर्मले त्यहाँको २५ रोपनी जग्गामा कालोहलेदो खेती गर्न सुरु गरेका हुन् । उनीहरुले करिब ५० लाख रुपैयाँ लागतमा कालो हलेदो खेती गर्न सुरु गरेका हुन् । दोलखाबाट ल्याएको करिब ७०० किलोग्राम बिउ ल्याएर रोपिएको हो ।

कालो हलेदो यस क्षेत्रका लागि नयाँ खेती हो । यसलाई आउँदो बर्षको चैत, वैशाखमा उत्खनन गरेर बिक्री गर्ने उनीहरुको योजना छ । करिब १५ हजार किलोग्राम कालो हलेदो उत्पादन हुने उनीहरुको योजना छ । बिक्रीकालागि उनीहरुलाई कुनै समस्या छैन । यसअघि नै किन्ने व्यवसायीले आफूले खरिद गर्ने भनी निश्चित गरेका छन् ।

यसरी ठूलो परिमाणमा कृषि उत्पादन गरेमा व्यवसायीहरुको उन्नति प्रगति हुनेछ । अन्यथा निर्वाहमुखी कृषिले मात्र किसानहरुको विकास हुनेछैन । जसरी बिगतदेखि निर्वाहमुखी किसानी गरेर आएका किसानहरुको अविगत आजसम्म पनि त्यस्तै छ, जस्तो सयौं बर्षअघि थियो । अहिले वैज्ञानिक आविष्कारले चमत्कृत युग हो । विज्ञान र प्रविधिको विकासले संसारलाई उथलपुलट बनाइसकेको छ । यो अबस्थामा कृषि प्रणालीलाई पनि विज्ञान र प्रविधिमैत्री बनाउनु पर्दछ ।

त्यसका लागि सरकारको सहयोगले पनि ठूलो महत्व राख्दछ । अहिले कागजपत्र मिलाउने किसानहरुले सरकारी अनुदान पाएका छन् । तर बर्षौदेखि कृषि व्यवसाय गर्ने तर सरकारको ढोकामा नधाउने किसानलाई कसैले वास्ता गर्दैन । यो हुनु दुखद हो । बास्तविक किसानलाई स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारले सहयोग गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्