| शुक्रबार, बैशाख १७, २०८३

२५ रोपनी क्षेत्रफलमा कालो हलेदो खेती

प्रतीक्षा आले ।
गोरखामा बाँझो बसेको २५ रोपनी क्षेत्रमा ओषधीय गुण भएको कालो हलेदो खेती सुरु गरिएको छ । गोरखा नगरपालिका वडा नं ३ निवासी यादव बस्नेत र भिमसेनथापा गाउँपालिका ५ की कविता अर्यालले संयुक्त रुपमा कालो हलेदोको खेती सुरु गरेको हो । उनीहरुले गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारमा कालो हलेदो खेती सुरु गरेका हुन् ।

बाँझो बसेको २५ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेको यादव बस्नेतले बताएका छन् । बस्नेत र अर्यालले करिब ५० लाख लगानीमा ‘बि एण्ड बि कृषि फर्म’ नाम दिएर कालोहलेदोको खेती गरेका छन् । आफूहरुले दोलखाबाट कालो हलेदोको ७०० केजी बिउ ल्याएर रोपेको बि एण्ड बि कृषि फर्मकी संचालक कविता अर्यालले बताइन् । ‘दोलखाबाट ७०० केजी बिउ ल्याएर २३ हजार बोट हलेदो लगाएका छौँ’, उनले भनिन्, ‘बिउ हलेदोलाई मात्र प्रतिकेजी ३ हजार रुपैँया लाग्यो । पछि यसलाई रोप्ने, गोडमेल र मलजलमा बढी खर्च भयो । हामीले कुनै किसिमको रासयनिक खौषधी प्रयोग नगरी अर्गानिक रुपमा हलेदो खेती गरेका छौँ ।’ कालो हलेदोले शरीरको रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गर्ने अर्यालले बताएकी छिन । साथै यसलाई क्यान्सर, हड्डी तथा विभिन्न छाला सम्बन्धी रोगहरु र स्त्री रोगको औषधीका रुपमा प्रयोग गरिने उनको भनाइ छ ।

कालो हलेदोको गानो मात्र नभएर यसको पातलाई पनि औषधीका रुपमा प्रयोग गर्न सकिने बि एण्ड बि कृषि फर्मका अर्का संचालक यादव बस्नेत बताउँछन् । ‘यसको पातलाई सुकाई प्रशोधन गरेर चियाको रुपमा प्रयोग गर्न सकिन्छ’, उनले भने ।
उनीहरुले गत बैशाखमा मात्र कालो हलेदो रोपेका थिए । बि एण्ड बि कृषि फर्म अहिले हलेदोको बोटहरुले ढकमक्क छ । अबको एक वर्षमा हलेदोले उत्पादन दिने बस्नेतले बताएका छन् । ‘सुरुको वर्षमा १२–१३ हजार केजी हलेदो उत्पादन हुने अनुमान छ’, उनले भने, ‘यसको बजार व्यवस्थापनका लागि सम्बन्धित कम्पनीसँग सम्झौता समेत गरिसकेका छौँ ।’ आफूहरु नेपालमै सबैभन्दा ठूलो स्केलमा कालो हलेदो खेती गर्ने कृषक रहेको अर्याल र बस्नेतको दाबी छ ।

कालो हलेदोलाई आफूहरुले नै ब्राण्डिङ, मार्केटिङ् गर्ने योजना रहेको कृषक यादव बस्नेतले बताएका छन् । ‘हाम्रो लागि ठूलो चुनौती भनेको मानिसहरुलाई कालो हलेदोको महत्व बुझाउनु हो’, यादव बस्नेतले भने ।
बस्नेत नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका गोरखा जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्