| सोमवार, कार्तिक २३, २०८३

ढिला नगरी क्याल्सियम र आइरनचक्कीको व्यवस्था गर

गर्भवती महिलाहरूलाई क्याल्सियम र आइरन चक्की अनिवार्य रूपमा आवश्यक पर्दछ । गर्भको बच्चा र आमाको स्वास्थ्य सुदृढीकरणका लागि सरकारले गर्भवती महिलालाई निशुल्क रुपमा क्याल्सियम र आइरन चक्कीको व्यवस्था गरेको हुन्छ, जुन यो विश्वव्यापी व्यवस्था हो ।

तर पालुङ्टार नगरपालिकाभित्रका स्वास्थ्यचौकीहरूमा यतिबेला आइरन चक्की र क्याल्सियम चक्कीको चर्को अभाव देखिएको छ । यसले गर्दा सो नगरपालिकाबासी गर्भवती महिलाहरूले आफ्नो र गर्भमा रहेको शिशुको स्वास्थ्यका लागि अत्यावश्यक पोषण तत्व पाउन सकेका छैनन् । यो अवस्थाले नगरपालिकाको स्वास्थ्य सेवा प्रणालीको गम्भीर कमजोरी र लापरबाहीलाई इंगित गर्दछ ।

गर्भावस्थामा आइरन र क्याल्सियमको महत्व अकाट्य छ । आइरनले रगतको कमी (एनिमिया) हुनबाट बचाउँछ, जसले गर्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ । त्यस्तै, क्याल्सियमले शिशुको हड्डीको विकास र आमाको हाडजोर्नीको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छ । स्वास्थ्यचौकीहरूमा यी औषधिहरूको आपूर्ति व्यवस्थापन गर्ने प्रत्यक्ष जिम्मेवारी नगरपालिकाको स्वास्थ्य शाखा र जनप्रतिनिधिहरूको हुन्छ ।

तर, अत्यावश्यक औषधिहरू नै अभाव हुनुले नगरपालिकाले नागरिकको आधारभूत स्वास्थ्य अधिकारलाई कति हलुका रूपमा लिएको छ भन्ने स्पष्ट पार्दछ । जनताको स्वास्थ्य सेवालाई चुस्त र दुरुस्त राख्नु स्थानीय सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । विशेष गरी, संवेदनशील अवस्थामा रहेका गर्भवती महिलाहरूको स्वास्थ्यमा खेलबाड गर्नु अक्षम्य गल्ती हो । अहिलेको यो समस्या केवल स्वास्थ्यचौकीको समस्या मात्र नभई, नगरपालिकाको व्यवस्थापकीय क्षमता र जनताप्रतिको संवेदनशीलतासँग जोडिएको विषय हो ।

तसर्थ, पालुङ्टार नगरपालिकाका सम्बन्धित निकाय, स्वास्थ्य शाखा र नगर प्रमुख, उपप्रमुखहरुले यो समस्यालाई तत्काल सम्बोधन गर्न जोडदार पहल कदमी लिनु पर्दछ । नगरपालिकाले विलम्ब नगरी संघीय सरकारसँग समन्वय गरेर वा आफ्नै बजेटबाट भए पनि तत्काल सबै स्वास्थ्यचौकीहरूमा आइरन चक्की र क्याल्सियम चक्कीको पर्याप्त आपूर्ति गर्ने व्यवस्था मिलाओस् ।

गर्भवती महिलाको स्वास्थ्यमा कुनै पनि बहानामा सम्झौता स्वीकार्य हुन सक्दैन । तत्काल आइरन र क्याल्सियम चक्कीको व्यवस्था गरी नगरवासी महिलाहरूको स्वास्थ्यलाई सुरक्षित राख्ने दायित्व पूरा गर्न पालुङ्टार नगरपालिकाले पहलकदमी लिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्