
रातो बंगला स्कूलको अद्वितीय काम
रातो बंगला स्कूल नेपालको एक प्रतिष्ठित शैक्षिक संस्था हो । ललितपुर पाटन ढोकामा अवस्थित रातो बंगलाले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षा दीक्षा दिने काम मात्र नगरी अभिभावकबाट असुल गरेको शैक्षिक शुल्कबाट १८ प्रतिशत रकम संकलन गरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सो कार्यक्रमबाट नेपालका दूर दराजका विद्यालयहरुमा कार्यक्रम गर्ने गरेको छ । स्थापनाको केही बर्षदेखि नै रातो बंगला स्कूलले रातो बंगला साझेदारी कार्यक्रममार्फत गोरखा, धादिङ, मकवानपुर, दैलेख, ललितपुर, म्याग्दी, जिल्लाका सामुदायिक विद्यालयहरुमा लामो अवधिको साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको । त्यस्तै अहिले ललितपुर, तेह्रथुम, पाँचथर, काठमाडौँ, खोटाङ र गोरखाका १०५ वटा सामुदायिक विद्यालयहरुमा साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
रातो बंगलाले अहिले भीमसेन थापा गाउँपालिकाका ३६ सामुदायिक विद्यालयका ५३ जना सहजकर्तालाई बालबालिकालाई सही सिकाइ गर्ने तौर तरिका, बदलिँदो समय सुहाउँदो वैज्ञानिक विधिका बारेमा प्रशिक्षित गर्ने, समय–समयमा पुनर्ताजगी तालिम दिने, सघन अनुगमन तथा पृष्ठपोषण गर्ने र कक्षा कोठा व्यवस्थापन गर्ने गरेको छ । यसअघि तीनबर्षे पूर्व प्राथमिक तहको कार्यक्रम सम्पन्न भइसके पनि अहिले पुनः प्राथमिक तहका लागि पाँचबर्षे कार्यक्रम लागु गरेको छ ।
सो कार्यक्रम अति प्रभावकारी भएको भन्दै भीमसेनथापा गाउँपालिकाले रातो बंगला स्कूलको भरपुर प्रसंसा गरेको छ । विशेषगरी बालबालिकालाई सिकाउने सहजकर्तालाई अति प्रभावकारी तालिम दिएकोमा स्थानीयले प्रसंसा गरेका छन् । साथै पूर्व प्राथमिक तहका बालबालिकाका लागि कक्षा व्यवस्थापनमा सघाएकोप्रति शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक हरि अर्याल, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक सहकर्ता तथा पालिकाको शिक्षा शाखा प्रफुल्लित भएका छन् ।
रातो बंगलाजस्ता अरु विद्यालय पनि देशमा हुन सक्छन्, तर दुर दराजका विद्यालयमा पढ्ने बालबालिकाको भविष्य सुन्दर बनाउने काममा रातो बंगलाको योगदान अद्वितीय छ ।




