
पन्थडिही कटहरे हर्मी साहिलटार सडकमा यातायात सेवा विस्तार गर्न माग
पन्थडिही कटहरे हर्मी साहिलटार सडकहुदैँ काठमाडौं, पोखरा, लम्जुङ, चितवन लगायतका शहरहरुमा यातायात सेवा बिस्तार गर्न माग गरिएको छ । उक्त सडकखण्डमा नयाँ रुट पहिचान गरी यातायात सेवा संचालन गर्न स्थानीयले माग गरेका हुन् ।
गोरखा र लम्जुङ जिल्लाका स्थानीयलाई लक्षित गरी उनीहरुले नौ वटा सम्भावित रुट प्रस्ताव गरेका छन् ।
गोरखा बाह्रकिलो कटहरे हर्मी, आँपपिपल लिगलिगकोट, गोरखा कटहरे हर्मी थालाजुङ भच्चेक खरिबोट र गोरखा चोरकाटे माझगाँउ सालबोट हर्मी निमारे पाँडेवेशी केरावारी खण्डमा बस सेवा संचालन गर्न उनीहरुको माग छ । त्यस्तै बिहान ८ बजे गोरखाबाट छुट्ने गरी गोरखा छेपेटार कटहरे हर्मी बोराङखोला सातबिसे धमिलिकुवा पाउँदी हुदैँ लम्जुङसम्म बस सेवा संचालन गर्न पनि उनीहरुले माग गरेका छन् । सोही रुट हुदै गोरखा आउने गरी लम्जुङबाट बिहान साढेँ ८ बजे बस छुटाउन पनि उनीहरुको माग छ ।
लिगलिगकोट आपपिपल हर्मी कटहरे छेपेटार हुदैँ काठमाडौं र बिचौर खरिबोट भच्चेक हर्मी छेपेटार हुदैँ काठमाडौं बस संचालन गर्न उनीहरुले प्रस्ताव गरेका छन् । काठमाडौं छेपेटार कटहरे हर्मी बोराङखोला सडकखण्डमा माइक्रो र बिचौर हर्मी कटहरे छेपेटार वा सातदोवाटो अवुवा हुदैँ नारायणगढ बस संचालन गर्न उनीहरुको माग छ । बारपाक समीफेद कटहरे हर्मी बोराङखोला पाउँदी कुन्छा दुईपिप्ले भोर्लेटार रामबजार हुदैँ पोखरा बस संचालन गर्न पनि स्थानीयले प्रस्ताव राखेका छन् । दुवैतर्फबाट बिहान ७ बजे गाडी छुटाउन उनीहरुले माग गरेका छन् ।
यी रुटहरुमध्ये कम्तिमा काठमाडौं, चितवन, लमजुङ लगायतका क्षेत्रमा यातायात सेवा सुचारु गरिदिन उनीहरुले गोरखा दरौँदी यातायात सेवा प्रालिसँग माग गरेका छन् । उक्त प्रालिले नसके सम्भावित यातायात कम्पनीसँग समन्वय गर्ने स्थानीयले बताएका छन् । उक्त रुटमा यातायात सेवा विस्तार भए गोरखाको पालुङटार नगरपालिका, सिरानचोक र अजिरकोट गाउँपालिकासँगै लमजुङको राइनास नगरपालिका र दुधपोखरी गाउँपालिकाका स्थानीय बढी लाभान्वित हुने बताइएको छ । दरौँदी यातायात प्रालिले प्रस्तावित रुटमा यातायात संचालन गर्न सक्ने नसक्ने अवस्था बुझ्न सो क्षेत्रका सडकखण्डको स्थलगत निरीक्षण भइरहेको जनाएको छ ।




