
पालुङ्टारका गर्भवती महिलाले आइरनचक्की पाएनन्
प्रतीक्षा आले ।
पालुङटार नगरपालिकाका गर्भवती महिलाले विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगर पालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवती महिलाहरुले नियमित रुपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरुले जनाएका छन् ।
विगत दुई महिनादेखि गर्भवती महिलाई क्याल्सियम र आइरन चक्की दिन नपाएको नगरपालिकाको केन्द्र ठाँटीपोखरी बजारमा अवस्थित वडा नं ५ को स्वास्थ्य चौकीले जनाएको छ । ‘केही महिनादेखि नै आइरन र क्याल्सियमको अभाव भइरहेको छ । बिगत दुई महिनायता ठप्पै छ’, ठाँटीपोखरी स्वास्थ्यचौकी स्वास्थ्यकर्मी रमा थापा मगर भन्छिन्, ‘क्याल्सियम र आइरन चक्की लिन आउनेलाई बजारका औषधी पसलमा किनेर खान सुझाव दिने गरेका छौँ ।’
१० वटा वडा रहेको पालुङटार नगरपालिकाको सबै स्वास्थ्य संस्थामा क्याल्सियम र आइरनचक्की छैन । ‘विगत डेढ महिनादेखि आइरन र क्याल्सियम चक्की छैन’, वडा नं. १० को स्वास्थ्यचौकी प्रमुख अनिशा जोशी भन्छिन्, ‘हामीले पनि आफै किनेर खानुस् भनेर फर्काउने गरेका छौँ । अब औषधी कहिले आउँछ थाहा छैन । सित्तैमा पाइने औषधी पैसा हालेर किन्नुपर्ने भन्दै गर्भवती महिलाहरु गुनासो गर्नुहुन्छ ।’
कतिपय महिलाहरुले भने स्वास्थ्यचौकीले नै किनेर उपलब्ध गराउन दबाब दिने गरेको उनको भनाइ छ । ‘कतिपय औषधी पसलमा पनि धेरै आइरन चक्की किन्न नदिने रहेछन् । अनि महिलाहरु रिसाएर हामीलाई नै किनेर व्यवस्था गरिदिन भन्नुहुन्छ’, उनले भनिन् । मिरकोट स्वास्थ्य चौकीबाट करिब २५ जना गर्भवती महिलाहरुले नियमित रुपमा आइरन र क्याल्सियमको चक्की खाँदै आएका जोशीले बताएकी छिन् ।
पालिकाको वडा नं ९ स्थित सेरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी गंगादत्त सेडाईले पनि आफ्नो स्वास्थ्य चौकीमा आइरन र क्याल्सियम चक्कीको अभाव रहेको गुनासो गरेका छन । ‘दुई महिनादेखि आइरन र क्याल्सियम चक्कीको अभाव छ’, उनले भने । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले आइरन र क्याल्सियम चक्की जस्ता औषधी खरिद गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको बताएका छन् ।
‘सरकारले नागरिकहरुलाई निशुल्क रुपमा प्रदान गर्ने ९८ प्रकारका औषधीमध्य कतिपय संघबाट, कतिपय प्रदेश र कतिपय स्थानीय तह आफैले किन्नुपर्ने प्रावधान छ । जसमध्य आइरन र क्याल्सियम चक्की संघीय बजेटबाट स्थानीय तह आफैले किन्नुपर्ने हुन्छ’, उनले भने, ‘तर, बिगतमा आइरन र क्याल्सियम चक्की संघबाटै आइरहेको अवस्था थियो । तीन–चार महिनाअघि मात्र संघले यी औषधीहरु पठाउन नसक्ने र स्थानीय तहहरु आफैले व्यवस्थापन गर्नुपर्ने भनेर सूचना जारी गरेको छ ।’
त्यसपछि पालिकाहरु आफैले ती औषधी व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रदेश जनस्वास्थ्य कार्यालयले प्रदेश आपूर्ति केन्द्रबाट आएको औषधीहरु पालिका पालिकामा पठाउने काम मात्र हेर्ने शर्मा बताउँछन् ।




