| सोमवार, कार्तिक २३, २०८३

किसानलाई उत्पादनमा प्रोत्साहन गर्न हाटबजार

गाउँका किसानलाई उत्पादनमा प्रोत्साहित गर्न र गाउँको कृषि उपज गाउँमै खपत गर्न पालुङटार नगरपालिकाले हाटबजारको सुरुवात गरेको छ । दशैंको छेको पारेर नगरपालिकाले पालुङ्टार ४ बाह्रपिर्केमा हाटबजारको सुरुवात गरेको कृषि शाखा प्रमुख संकल्प न्यौपानेले जानकारी दिए ।

हरेक बिहिबार हाट बजार सञ्चालन गर्ने योजना पालिकाको रहेको छ ।
हाटको प्रयोजनका लागि निर्माण गरेको भौतिक संरचनामा २० भन्दा धेरै स्टल राखेर आरम्भ गरिएको न्यौपानेले बताए । ‘यसअघि कृषि सेवाकेन्द्र रहेको ठाउँ आसपास हाटबजार सञ्चालन गर्न गाउँपालिकाले भौतिक संरचना तयार गरेको थियो’, न्यौपानेले भने, ‘पहिलो दिन त्यहाँको २० वटा स्टलमा र बाहिर पनि थप स्टल बनाएर हाट बजार सञ्चालन भयो ।’ पहिलो दिन ६ लाखभन्दा धेरैको आर्थिक कारोबार भएको न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाले हाटबजार सञ्चालन गर्न किसानहरुलाई प्रोत्साहित गरेको छ । वडा नं. ४ बड्डाँडाका किसानहरुलाई अनुदान दिएर कृषि उत्पादनमा लाग्न प्रोत्साहित गरिएको कृषि शाखाले जनाएको छ । ‘दुई रोपनीभन्दा धेरै जग्गामा तरकारी खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिने नीति नगरपालिकाको छ’, कृषि शाखा प्रमुख न्यौपानेले भने, ‘किसानहरुलाई उत्पादनमा प्रोत्साहित गर्न र उनीहरुको उत्पादन स्थानीय बजारमै खपत गर्ने उद्देश्यले हाट बजार सुरु गरेका हौँ । यदि बजारमा खपत भएन भने पालिकाले न्यूनत्तम(२५ प्रतिशत कम) दरमा खरिद गरेर अन्यत्र बजारमा लगेर बेच्ने कार्यक्रम घोषणा गरेका छौँ ।’ कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको उनले बताए ।

पालुङ्टार नगरपालिकाको वडा नं. ६ लाई अमिलो जात पकेट क्षेत्र, वडा नं. ३ लाई आलु पकेट क्षेत्र, वडा नं. १ र ९ लाई धान पकेट क्षेत्र घोषणा गरिएको छ त्यस्तै वडा नं. ७, ८, ९ र ४ लाई दूधमा आत्मनिर्भर वडा घोषणा गरिएको छ । वडा नं. ६, ७ र ८ लाई लिची व्लकका रुपमा कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्