
बढी भाडा लिने सवारीलाई कारवाही गर्न पालिकाको माग
पालिकाका बिभिन्न स्थानबाट काठमाडौं, पोखरा, चितवन चल्ने सार्वजनिक सवारी साधानले यात्रुसँग बढी भाडा असुल गरेको पाइएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आपत्ति जनाएको छ । यात्रु तथा आमनागरिकको अधिकारलाई कुण्ठित गरि बढी भाडा असुल गर्ने कार्य स्वीकार्य नहुने भन्दै पालिकाले क्यू एवं टिकट व्यवस्थापन गरि सहज ढंगले यात्रुलाई गन्तव्यमा पु¥याउन यातायात व्यवसायी तथा प्रालिलाई अनुरोध गरेको छ ।
वुधवार प्रेस बिज्ञप्ती जारी गर्दै पालिकाले तोकिएको भन्दा बढी भाडा असुल गर्ने र नतिरे टिकट र सिट उपलब्ध नगराउने गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको भन्दै पालिकाले यस्तो नगर्न आग्रह गरेको हो । चाडवाडको मौका छोपेर बढी भाडा असुल गर्ने, सवारीको कृत्रिम अभाव सिर्जना गराउने, यात्रु तथा आमनागरिकलाई अभद्र व्यवहार गर्ने जस्ता कार्य बन्द गर्न पनि पालिकाले आग्रह गरेको छ ।
यस्ता व्यवहार गर्ने र बढी भाडा असुल गर्नेलाई कारवाही गर्न पालिकाले सम्बन्धित निकायसँग माग समेत गरेको छ । चाडवाडको मौका छोपेर सार्वजनिक सवारी लुकाउने, क्यू नचलाउने, बढी भाडा असुल गर्ने र क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण यात्रा गर्ने गरेको जनगुनासो समेत बढेकाले निगरानी र चेकजाँच बढाउन पालिकाले सम्बन्धित निकायलाई आग्रह माग समेत गरेको छ ।




