| शुक्रबार, असार ११, २०८३

अधिकांश स्थानीय तहमा पुग्यो आयुर्वेद केन्द्र, नभएका पालिकामा यो बर्षबाट संचालन हुने

सरकारले सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पु¥याएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रको रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । जिल्लाका केही स्थानीय तहमा यसअघि नै आयुर्वेद औषधालय स्थापना भएर संचालनमा थिए ।

प्रदेश मातहत रहेको उक्त औषधालय यो बर्षबाट थानीय तह मातहत आएका छन् । ‘घैरुङमा प्रदेश मातहतको जिल्ला आयुर्वेद कार्यालय थियो,’ भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले भने, ‘यो बर्षबाट उक्त कार्यालय स्थानीय तह मातहत आयो र बजेट पनि पालिकालाई नै प्राप्त भयो ।’ आरुघाट गाउँपालिकामा पनि यस अघि नै नागरिक आरोग्य सेवा केन्द्रको रुपमा आयुर्वेद औषधालय रहेको र यो बर्षबाट स्थानीय तह मातहत आएको पालिका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।

यो बर्षबाट बजेट पनि स्थानीय तहलाई प्राप्त भएको उनले जानकारी दिए । यस्तै धार्चे गाउँपालिकामा पनि यस अघि नै आयुर्वेद केन्द्र संचालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताए । ‘पहिले देखि नै आयुर्वेद औषधालय छ, तर यो बर्षबाट बजेट भने स्थानीय तहमा आएको छ,’ उनले भने ।चुमनुव्री गाउँपालिकामा भने हालसम्म आयुर्वेद केन्द्र स्थापना भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

संघिय सशर्त अनुदानको कार्यक्रम मार्फत यो बर्ष बजेट आएको उनले जानकारी दिए । भने, ‘यसअघि आयुर्वेद केन्द्र थिएन, यो बर्ष बजेट परेको छ अव स्थापना गर्छाै,’ उनले भने । जिल्लाका अन्य स्थानीय तहमा यसअघि प्रदेश मातहत रहेका आयुर्वेद केन्द अव स्थानीय तह मातहत आएका छन् । सरकारले ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र पु¥याएको दावी गरेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामवाबु ठाकुरले मुलुकका सबै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिए ।

आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालय नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रका रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको उनले बताए । उक्त सेवा केन्द्रमा एक जना कविराज तहका आयुर्वेद जनशक्तिको व्यवस्था हुनेछ । हरेक पालिका तहमा रहेका ती आयुर्वेद केन्द्रबाट निःशुल्क रुपमा आयुर्वेद औषधिका साथै उपचार सेवा पनि प्रदान गरिने छ । यस्तै आरोग्य केन्द्रहरूमा भने योग पनि सिकाइने डा. ठाकुरले जानकारी दिए ।

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मुल नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको विभागले स्पष्ट गरेको छ । निमित्त महानिर्देशक डा ठाकुरका अनुसार यसअघि २३ वटा आयुर्वेदसम्बन्धी औषधि बिरामीलाई दिने गरेकामा अबदेखि ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालिएको छ ।

आयुर्वेद सेवा केन्द्रहरूबाट कब्जियत, मधुमेह, उच्चरक्तचाप लगायतका रोगका औषधि निःशुल्क रूपमा प्रदान गरिने व्यवस्था मिलाइएको छ । नेपालमा सबै प्रदेशमा प्रादेशिक आयुर्वेद चिकित्सालय र केन्द्रीय तहमा आयुर्वेद चिकित्सालय नरदेवी तथा आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरबाट सेवा प्रदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्