| सोमवार, कार्तिक २३, २०८३

एक महिनापछि चुम उपत्यकामा विद्युत, मोबाइल, इन्टरनेट सेवा सुचारु

अवरुद्ध भएको एक महिनापछि चुम उपत्यकामा विद्युत, मोबाइल र इन्टरनेट सेवा सुचारु भएको छ । गत भदौ २२ गतेदेखि अवरुद्ध भएको विद्युत, मोबाइल तथा इन्टरनेट सेवा केही दिनअघिदेखि सुचारु भएको चुमनुब्री ७ का निवर्तमान वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए ।


कादुरी नामक विदेशी संस्थाले निर्माण गरेको सो विद्युत गृहमा खराबी आएका कारण सेवा अवरुद्ध भएको थियो । ‘कादुरीबाट प्राविधिक आएर मर्मत गरेपछि गाउँमा विजुली बाल्न पायौँ’, उनले भने, ‘विजुली बनेपछि त मोबाइल सेवा पनि चल्यो, वाइफाई, इन्टरनेट पनि चल्यो ।’ साथै कुटानी, पिसानी, काठको काम पनि गर्न पाइएको उनले बताए ।


यसअघि विद्युत गृहको प्रविधिमा खराबी आएपछि छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी र छुले गाउँका बासिन्दा गत भदौ २२ गतेदेखि विद्युत, मोबाइल तथा इन्टरनेट सेवाबाट बञ्चित थिए ।

प्रतिक्रिया दिनुहोस्