| मङ्लबार, जेष्ठ ११, २०८३

चाडबाडका बेला मेला महोत्सव नहुँदा बजार गुल्जार

दशैं नजिकिँदै गर्दा गोरखा बजारमा चहलपहल बढेको छ । बिगत बर्षको यो समयमाभन्दा यसबर्ष गोरखा बजारको चहलपहल बढेको स्थानीय व्यापारीहरु बताउँछन् । बिगतका बर्षहरुमा यो बेला अर्थात दशैँका बेला मेला महोत्सव हुने गथ्र्यो ।

मेला महोत्सवले मुख्य व्यापार हुने(दशैंको) सिजनमा बजारको चहलपहल घट्ने स्थानीय व्यापारी, व्यवसायीको भनाइ छ । ‘यो बर्ष दशैंको बेलामा मेला महोत्सव भएन । त्यही भएर बजारका हरेक व्यापारीको पसलमा ग्राहकहरु देख्न पाइएको छ’, गोरखा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने, ‘धेरैथोरै सबैको ब्यापार, व्यवसाय फस्टाएको छ । विशेषगरी कपडा तथा फेन्सी पसलमा चहलपहल बढेको छ ।’

खाद्यान्न पसलहरु गाउँबस्तीमा जहाँतहीँ भएकाले त्यसमा भन्दा फेन्सी पसलमा धेरै भिड लाग्ने गरेको उनले बताए । ‘गाउँबस्तीमा फेन्सी पसलहरु भए पनि छनौटको अवसर धेरै नभएकाले बजारकै फेन्सीहरुमा भीड लागेका छन्’, उनले भने । बर्षभरि राम्रो व्यापार नभएर आजित भएका व्यापारी, व्यवसायी दशैंका बेला व्यापार बढ्ने भन्दै खुशी हुन्थे । त्यहीबेला मेला महोत्सव भइदिँदा मर्कामा पर्ने गरेको उनीहरुको गुनासो छ ।

मसला पसलमा पनि ग्राहकको बढि चाप देखिएको छ । ‘किराना पसलहरुमा भन्दा मसला पसलहरुमा धेरै भीड लागेका छन् किनभने मसला पसलमा ग्रिण्डिङ मेसिनसमेत छन् । आजभोलि मसला किनेर त्यहीँ पिसेर लैजाने चलन बढेको छ’, उनले भने ।
चाडबाडका बेला मेला महोत्सव नभइदिँदा यसबर्ष राम्रो व्यापार भएको कपडा तथा फेन्सी व्यवसायी संघका अध्यक्ष सुवास मल्ल बताउँछन् ।

‘बिगत बर्षभन्दा यसबर्ष सबै कपडा तथा फेन्सी पसलमा ग्राहकको भीड देखिएको छ’, उनी भन्छन्, ‘जुन बेला व्यापार राम्रो हुन्छ भनेर कुरेर बस्यो, त्यही बेलामा मेला, महोत्सव भइदिन्छ । ग्राहकहरु मेला महोत्सवकै स्टलमा झुम्मिन्छन् । बजारका पसलहरु सुनसान ।’ चाडबाडका बेला गर्ने मेला महोत्सवबाट वैधानिक कारोबार गर्ने व्यापारी, व्यवसायी, ग्राहक, उपभोक्ता, राज्यपक्षले नोक्सानी ब्यहोर्नु परिरहेको उनको भनाइ छ ।

चाडबाडका बेला मेला महोत्सव नहुँदा बजारका व्यापारी व्यवसायीले सुखको सास फेर्न पाएका गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के बताउँछन् । ‘यसबर्ष भने दशैंको मुखैमा मेला महोत्सव भएन । गोरखा बजारका व्यवसायी साथीहरुले सन्तोषको सास फेर्न पाएका छन्’, उनले भने, ‘आफूले मात्र सन्तोषको सास फेरेर भएन, गुणस्तर र मूल्य मिलाएर ग्राहकहरुलाई सन्तुष्ट पार्नुपर्छ ।’

मेला महोत्सवका अधिकांश स्टलहरुमा मूल्यका हिसाबले केही सुपथ भए पनि कतै नबिकेर बसेका सामानहरु बिकाउने गरेको आरोप छ । ‘हेर्दा स्टलमा सस्तो मूल्यमा किनबेच भएजस्तो देखिन्छ, तर बर्षौँदेखि नबिकेर बसेका सामान हुन्छन्, जुन सस्तो हुन्छन् तर, गुणस्तरहीन हुन्छन् । ग्राहक ठगिन्छन्’, कृष्णकुमार श्रेष्ठ भन्छन्, ‘ग्राहकहरुले मूल्यतिर मात्र ध्यान दिएका हुन्छन्, गुणस्तरतिर ध्यान दिएका हुदैनन् । पछि सामान बिग्रिने, रङ जाने, च्यातिने भएपछि गुनासो गर्ने ठाउँसम्म पनि पाउँदैनन ।’

मेला महोत्सवमा स्टल राख्न आउनेहरुले राज्यलाई कर समेत नतिर्ने गरेकाले राज्यलाई समेत घाटा पर्ने उनको भनाइ छ । साथै मेला महोत्सव गर्न ठेकेदारलाई ठेक्का दिने गलत प्रचलन बसेको उनको निश्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्