
फोन उठाउनुस् है हाकिमसाब्
जिल्ला प्रशासन कार्यालय गोरखाले दशैं विदाको अवधिमा पनि कार्यालयको फोन स्वीचअफ गर्न नपाउने निर्णय गरेको छ । मुलुक अहिले संक्रमणको घडीमा रहेको र जुनसुकै अबस्थामा कार्यालय प्रमुख सम्पर्कमा रहनु पर्ने आवश्यकता महशुस गरी यस्तो निर्णय गरिएको हो ।
यसले कर्मचारी(विशेषगरी कार्यालय प्रमुख)लाई कार्यालय र आफ्नो कामप्रति बढि जिम्मेवार बनाएको छ । त्यसो त कतिपय कार्यालय प्रमुखहरुले अघिल्ला बर्षहरुमा पनि कार्यालयीय मोबाइल नंबर स्वीच अफ गर्दैनथे । दशैं वा जुनकुनै सार्वजनिक विदामा पनि फोन अफ पनि गर्दैनथे, बरोबर फोन रिसिभ पनि गर्ने गर्दथे । उनीहरुका हकमा यो निर्णय नयाँ पनि होइन, जटिल पनि होइन ।
तर गोरखामा कतिपय कार्यालय प्रमुखहरु यस्ता छन्, जो कार्यालयको फोन अधिकांश समय स्वीच अफ गरेर बस्छन् । स्वीच अन भए पनि रिसिभै नगरेर सर्वसाधारण नागरिक, सेवाग्राहीलाई हैरान पार्दछन् । तालुक कार्यालय, विभाग, निर्देशनालयबाट फोन आउँदा मात्र रिसिभ गर्ने, अन्यथा सर्वसाधारण सेवाग्राही, पत्रकारहरुको फोन रिसिभ नगर्ने उनीहरुको हर्कत छ ।
यस्ता दुश्चरित्र भएका कार्यालय प्रमुखहरुलाई पनि यो सूचनाले खासै असर गर्दैन किनभने तालुक कार्यालय(जिल्ला प्रशासन कार्यालय), विभाग, निर्देशनालयहरुबाट आएको फोन मात्र रिसिभ गर्ने, सर्वसाधारण सेवाग्राही वा पत्रकारको फोन रिसिभ नगर्ने प्रवृत्ति दशैं विदामा पनि जारी रहनेछ । फोन रिसिभ गरे, नगरेको बारे प्रशासन कार्यालयलाई जानकारी नै हुदैन ।
कार्यालय प्रमुख भनेका तालुक कार्यालय, विभाग वा निर्देशनलयतर्फ मात्र जवाफदेही(उत्तरदायी) होइनन्, सर्वसाधारण सेवाग्राही, पत्रकारतर्फ पनि जवाफदेही हुनुपर्छ, यो सिकाउनु पर्ने विषय पनि होइन । अरु कर्मचारी र कार्यालय प्रमुख बीचको फरक नै यही हो कि कार्यालय प्रमुख सँधै सर्वसाधारण सेवाग्राहीतर्फ जवाफदेही हुनुपर्छ । त्यसैले त अरु कर्मचारीलाई भन्दा सरकारले धेरै सेवा सुविधा दिएको हुन्छ, जस्तै यातायातका साधन, इन्धन, ड्राइभर, सञ्चार सेवा, निवास, भान्से, चौकीदार, परिचर इत्यादि ।
थप सुविधा पाउनुको अर्थ सेवाग्राहीतर्फ जिम्मेवारी हुनुपर्छ भन्ने आशय होइन र ? त्यसैले हाकिमसाब् सर्वसाधारण नागरिक, सेवाग्राहीहरुको फोन पनि रिसिभ गर्नुहोस् ।




