| शुक्रबार, बैशाख १७, २०८३

सिरानचोकमा कृषि उपज प्रबद्र्धन तथा खरिदबिक्री केन्द्र संचालन

सिरानचोक गाउँपालिकामा स्थानीय कृषि उपज प्रबद्र्धन तथा खरिदबिक्री केन्द्र स्थापना भएको छ । स्थानीय स्तरमा उत्पादित कृषि सामाग्री संकलन तथा खरिदबिक्री गर्ने उद्देश्यसहित पालिकाले वडा नं ५ छोप्राकमा केन्द्र स्थापना गरेको पालिकाको पशु सेवा शाखाका नवराज न्यौपानेले बताए ।

नजिकिँदै गरेको बडादशैँलाई लक्षित गरेर हाल केन्द्रमा स्थानीय खसीबोका संकलन तथा खरिदबिक्री भैरहेको उनले जानकारी दिए । ‘पालिकाको हरेक वडाका कृषि प्राविधिक, जनप्रतिनिधि र पालिकाका कर्मचारीहरुले अपनत्व लिएर कृषि उपज प्रबद्र्धन तथा खरिदबिक्री केन्द्र संचालन गरेका छौँ’, उनले भने, ‘हाम्रो मुख्य उद्देश्य पालिकामा उत्पादन भएका कृषि सामाग्री पालिकाभित्रै उपभोग होस् भन्ने हो ।’

पालिका अन्तरगतका सबै वडाहरुमा छोप्राकमा जस्तै कृषि उपज प्रबद्र्धन तथा खरिदबिक्री केन्द्र बिस्तार गर्ने लक्ष्य पालिकाको रहेको न्यौपानेको भनाइ छ । सिरानचोक गाउँपालिकाले यही असोज ८ गते खसिबोका मेला प्रदर्शनी आयोजना गर्न लागेको छ । दशैँलाई लक्षित गरेर सिरानचोक गाउँपालिका वडा नं ५ मैदानमा मेला आयोजना गर्न लागिएको हो ।

मेलाको मुल उद्देश्य स्थानीय कृषकहरुले उत्पादन गरेको खसीबोका बिक्री वितरणमा सहजिकरण गर्नु हो । मेलामा प्रदर्शन गर्न ल्याइने खसीबोका पालिकाको कृषि एम्बुलेन्सले ढुवानी गरिदिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्