
चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
चाडपर्वलाई लक्षित गरी गोरखा प्रहरीले जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सोमवार जिल्लाका तीन स्थानमा सहायता कक्ष स्थापना भएको र आवश्यकता अनुसार थप गरिने प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताए ।
‘आज गोरखा बजारको हरमटारीचोक, आरुघाट र पालुङ्टारमा नागरिक लक्षित सहायता कक्ष स्थापना गरेका छौँ,’ उनले भने, ‘आवश्यकता अनुसार अन्य स्थानमा पनि राख्छौ ।’ सहायता कक्ष स्थापनाका लागि कार्यालय मातहतका सबै यूनिटलाई निर्देशन गरिसकेको उनले जानकारी दिए ।
चाडवाडको समयमा यात्रुले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै सहायता कक्ष राखिएको उनले बताए । ‘चाडपर्वको मौका छोपी गाडीले महँगो भाडा लिने र कतिपय यात्रु गाडी नपाएर अलपत्र पर्ने अवस्था पनि हुन सक्छ, उनीहरुकै सहजताका लागि सहायता कक्ष स्थापना गरेका हौँ ।’
त्यस्ता समस्या भएर सहायता कक्षमा उनीहरुले समस्या राख्न गर्न सक्ने र समस्या समाधानका लागि प्रहरीले पहल गर्ने एसपी बिकको भनाइ छ । यात्राको क्रममा हुन सक्ने चोरी डकैती जस्ता अपराधिक घटना न्यूनिकरणका लागि पनि सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।




