| आइतवार, साउन ९, २०८३

चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

दशैँ नजिकिएसँगै गोरखा बजारमा चहल पहल बढेको छ । बैँक तथा वित्तिय संस्थाहरुमा बिहानैदेखि घुइँचो लाग्ने गरेको छ । साथै, किनमेल गर्न आउने मान्छेहरुको पसलहरुमा भिडभाड बढ्न थालेको छ ।

कमाइका हिसावले व्यवसायीका लागि चाडवाडले बिशेष अर्थ राख्छ । अन्य समयको तुलनामा चाडवाडमा व्यापार व्यवसाय बढी हुन्छ । यही बेलाको कमाईले बर्षभरको व्यापार व्यवसाय धान्नुपर्ने बाध्यता पनि छ । तर चाडवाडको समयमा हुने मेला महोत्सवले उनीहरुको व्यापार व्यवसायमा असर पु¥याउने गरेको छ ।

सो कुरा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के समेत स्वीकार गर्छन् । यो बर्ष मेला महोत्सव नभएकाले व्यवसायीमा केही उत्साह देखिएको उनले बताए । ‘अस्तिको जेन जी आन्दोलन र अहिले ठाउँ ठाउँमा गईरहेको पहिरोले बजार केही प्रभावित भएतापनि अहिलेसम्मको अवस्था सन्तोषजनक नै छ’, उनले भने, ‘बजारमा उपभोग्य सामाग्री ल्याउने क्रम जारी छ ।

आज (आईतबार)देखि बजारमा चहल पहल पनि निकै बढेको छ ।’ दशैँ मनाउन जिल्ला भित्रनेहरुको क्रम भने हालसम्म नबढेको र अझैँ केही दिनपछि मात्र दशैँ मनाउनेहरु जिल्ला भित्रने उनले बताए । फेन्सी तथा कपडा व्यवसायी गोरखाका अध्यक्ष सुवास मल्लले यसपालिको दशैँ बजार हालसम्म सन्तोषजनकै देखिएको बताएका छन् । उनका अनुसार जेन जी आन्दोलन, वर्षा, पहिरो लगायत विविध कारणले बजार केही प्रभावित भने बनेको छ । यद्यपी बजारमा उपभोक्ता आउने क्रम बढ्दै गएको उनले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले दशैँ नजिकिएसँगै बजारमा चहल पहल बढेको बताएका छन् । प्रशासन कार्यालयले चाडपर्व लक्षित गरेर जिल्लामा शान्ति सुरक्षा बढाएको उनको भनाई छ । ‘अहिले बजारमा व्यापारिक चहल पहल बढेको छ । हामीले पनि सोही अनुसार सुरक्षा बढाएका छौँ’, उनले भने, ‘चाडपर्वका बेला कालोबजारी नहोस् भनेर बजार अनुगमनलाई पनि निरन्तरता दिँदै आएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्