
बेनिघाट–लार्के सडक अवरुद्ध
केहीदिनदेखिको बर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ । धार्चे ३ तातोपानीदेखि दोभानसम्मको खण्डमा आधादर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको निवर्तमान वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।
‘तातोपानीनेर दुई तीन ठाउँमा पहिरो खसेको छ । दोभाननेर दुईतीन ठाउँमा पहिरिएको छ’, उनले भने, ‘गाउँपालिकाले पहिरो फाल्दै त छ तर कहिले पन्छ्याइसक्छ थाहा छैन ।’ बूढीगण्डकी जलविद्युत आयोजनाले पनि सहयोग गर्न सक्ने उनले बताए । ‘बूढीगण्डकी जलविद्युत आयोजनालाई पनि अनुरोध गरेका छौँ । उनीहरुले पनि सहयोग गर्छ होला ।’ यसअघि तातोपानी–दोभान खण्डमा झरेको पहिरो झण्डै एक महिनापछि बूढीगण्डकी जलविद्युत आयोजनाले पन्छ्याएर सडक खुलाएको थियो ।
सडक अवरुद्ध हुँदा चुमनुब्री गाउँपालिका आवतजावत गर्न कठिनाइ भएको छ । साथै धार्चे गाउँपालिकाको वडा नं. १ र ३ को उहियाका बासिन्दालाई आवतजावत गर्न कठिनाइ भएको छ । साथै पर्यटकीय सिजन सुरु भएसंगै मनास्लु क्षेत्र तथा चुम उपत्यका आवतजावत गर्ने पर्यटकलाई पनि समस्या भएको छ ।
सडक अवरुद्ध हुँदा मनास्लु आरोहणका लागि अनुमति लिएका ३५० जना धन्दा धेरै आरोहीको सामान ढुवानी गर्ने भरिया तथा खच्चडका लागि पनि सकस भएको छ ।




