| मङ्लबार, साउन ११, २०८३

दुर्गम क्षेत्रको समस्या चाँडै समाधान गर

गोरखाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । शान्तिका अग्रदूत वुद्धका अनुयायीहरुले भरिएको चुमनुब्री शान्तिप्रिय भूमि हो । हजार बर्ष पुराना गुम्बा तथा धार्मिक, पुरातात्विक सम्पदाले भरिएको चुमनुब्री साँच्चै सुन्दर छ ।

यति हुँदाहुदै पनि आधुनिक पूर्वाधार विकासले भने निकै भए पनि विकासका पूर्वाधारहरूबाट वञ्चित छ । सदरमुकामबाट टाढा रहेको यो क्षेत्रमा वर्षौंदेखि विद्युत, टेलिफोन र इन्टरनेट जस्ता आधारभूत सेवाहरूको पहुँच सहज हुन सकेको छैन । कादुरी नामक गैरसरकारी संस्थाले उत्पादन गरेको लघुजलविद्युतकै भरमा चलेको छ, चुमनुब्री । भौतिक पूर्वाधारको अभावले गर्दा त्यहाँका बासिन्दाले दैनिक जीवनमा ठूलो कठिनाइ भोगिरहनुपरेको छ ।

स्याउ, यार्सागुम्बा, वनलसुनजस्ता स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन, आधुनिक शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच पु¥याउन र सरकारी सेवाहरूलाई प्रभावकारी बनाउनका लागि सडक नभए पनि सुरक्षित बाटोघाटोको खाँचो छ । तर त्यो पनि यहाँ अभाव छ । यो दुनियाको वरदान भनेर चिनिने विद्युत, टेलिफोन र इन्टरनेट अपरिहार्य बस्तु हुन् । यी सेवाको अभावमा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास अवरुद्ध भएको छ ।

दुर्गम भूभागका कारण पूर्वाधार निर्माणमा चुनौतीहरू अवश्य छन्, तर राज्यले यसलाई प्राथमिकतामा राखेर तत्काल आवश्यक कदम चाल्नुपर्छ । सौर्य ऊर्जा र साना जलविद्युत् आयोजनाको विकास, दूरसञ्चार टावरहरूको स्थापना र भरपर्दो इन्टरनेट सेवा विस्तारमा विशेष ध्यान दिनुपर्छ । यसका लागि सरकार, स्थानीय तह र गैरसरकारी संस्थाहरूबीच सहकार्य आवश्यक छ ।

स्थानीय बासिन्दाको जीवनस्तर उकास्न र उनीहरूलाई विकासको मूल प्रवाहमा जोड्नका लागि चुमनुब्रीमा विद्युत तथा सञ्चारको पहुँच सुनिश्चित गर्नपर्छ । अहिले नेपालमा रानीतिक उथलपुथल भएको छ । त्यहाँका बासिन्दा यस बारेमा करिब करिब अनभिज्ञ छन् । अति धेरै चासो लाग्नेहरु गाउँबाट परको डाँडामा गएर धेरै टाढा न्याकको टावरले सञ्चार सेवा दिने ठाउँमा गएर फोन प्रयोग गर्छन् । यहाँको समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्