
अजिरकोटमा धमाधम स्याउ टिप्न थालियो
प्रतीक्षा आले ।
यतिबेला जिल्लाको अजिरकोट गाउँपालिकामा धमाधम स्याउ टिप्ने सिजन सुरु भएको छ । अजिरकोट गाउँपालिका वडा नं २ को २२०० मिटर उचाइमा अवस्थित मूलखर्क र नब्लूका स्याउ फर्ममा लगाइएको स्याउले यसबर्षदेखि व्यवसायिक उत्पादन दिन सुरु गरेको हो ।
हाल धमाधम स्याउ बिक्री वितरण भैरहेको मूलखर्क जडिबुटी तथा स्याउ फर्मका संचालक सञ्जिव तामाङले बताए । भदौको दोस्रो हप्ताबाट स्याउ टिप्न सुरु गरिएकोमा हालसम्म ४०० केजी स्याउ बिक्री भैसकेको उनले जानकारी दिए । ‘यो वर्ष उत्पादन भएका स्याउमध्ये ८० प्रतिशत स्थानीय बजारमा नै बिक्री भयो । अब बाँकी २० प्रतिशत जति काठमाडौँ र पोखरामा पठाउने तयारी छ’, उनले भने, ‘स्याउले उत्पादन दिन थालेको यो पहिलो वर्ष हो त्यसैले धेरै उत्पादन भएन । माग धान्नै गाह्रो भएको छ ।’
फर्ममै पुग्ने ग्राहकलाई प्रतिकेजी रु ३०० र बाहिर बेच्दा प्रतिकेजी रु ३५० मा स्याउ बिक्री वितरण गरेको लामाको भनाइ छ ।
उनले गाउँपालिकाको विरुवामा ५० प्रतिशत अनुदान दिने कार्यक्रम अन्तर्गत २०७९ सालमा चारसय वटा स्याउको विरुवा रोपेका थिए । जसमध्य यो वर्ष करिब २२० बोटले मात्र उत्पादन दिएको उनले बताएका छन् । लामासँगै अर्का स्थानिय भीमबहादुर तामाङले पनि चारसय वटा विरुवा रोपेका थिए । उनीहरुले गाउँपालिकाले इटलीबाट ल्याएको फुजी, रेड डेलिसियस र गाला जातको स्याउ परीक्षणका रुपमा लगाएका थिए ।
दुवै फर्ममा लगाइएको स्याउका बोटहरुले यो वर्ष राम्रो फल दिएको पालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताउनुभयो । ‘तीन वर्षअघि परीक्षणका रुपमा लगाएको अहिले दुवै फर्ममा लटरम्मै स्याउको दाना फलेको छ । यसलाई परीक्षण सफल भएको मानेका छौँ’, उनले भने, ‘परीक्षण सफल भएसँगै व्यवसायिक स्याउ खेतीको क्षेत्र बिस्तार गर्ने योजना पालिकाको छ ।’ पालिकाको वडा नं १ र २ स्याउ खेतीका लागि उपयोगी रहेको उनले जानकारी दिए ।
पालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पनि व्यवसायिक स्याउ खेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आउँदो बर्ष पाँच हजार स्याउका बिरुवा किसानलाई वितरण गर्ने लक्ष्य गाउँपालिकाको रहेको कृषि शाखा प्रमुख शम्भू थापाले बताएका छन् ।




