| मङ्लबार, कार्तिक २४, २०८३

बिही र प्रोकमा हेपाटाइटिस ‘बी’को दोस्रो डोज लगाउन सुरु

गोरखाको चुमनुव्री गाउँपालिका वडा नं ४ प्रोक र ५ बिहिमा निःशुल्क हेपाटाइटिस ‘बी’ विरुद्धको दोस्रो डोज लगाउन सुरु भएको छ । किमोलुङ फाउण्डेशन नेपालले गाउँपालिकासंग समन्वय गरी आइतबारबाट चुमनुब्रीको प्रोक र बिहीका विभिन्न गाउँबस्तीमा हेपाटाइटिस बी विरुद्धको दोस्रो डोज लगाउन सुरु गरेको हो ।

संस्थाले यही साउनको २८ गतेदेखि भदौ ९ गतेसम्म गरेको रोग परिक्षण तथा खोप अभियानमा त्यहाँका १६८१ जनालाई हेपाटाइटिस बी विरुद्धको खोप लगाइएको थियो । पहिलो डोज लगाएका १६८१ जनालाई लक्षित गरेर दोस्रो डोज लगाउन सुरु गरेको हो ।

आइतबार बिहीको राना खोप केन्द्रबाट दोस्रो डोज लगाउन सुरु गरिएको त्यहाँ कार्यरत्त स्वास्थ्यकर्मी छिरिङ खान्दो लामाले बताइन् । राना खोप केन्द्रमा संचालित खोप शिविरको पहिलो दिन ३७ जनाले दोस्रो डोज लगाएका उनले जानकारी दिइन् । ‘पहिलो दिन २३ महिला र १४ जना पुरुषले दोस्रो डोजको खोप लगाएका छन्’, उनले भनिन्, ‘आज पहिलो दिन भएर कम उपस्थिति देखिएको हो । बिस्तारै माथिल्लो भेगका मानिसहरु दोस्रो डोज लगाउन आउँदै हुनुहुन्छ ।’

शिविरको पहिलो दिन भदौ २९ गते वडा नं ५ को रानामा, ३० गते बिही स्वास्थ्यचौकीमा खोप शिविर सञ्चालन हुनेछ । त्यस्तै, भदौ ३१ गते क्य्राक गाउँमा, असोज २ गते सेराङगुम्बामा र असोज ४ गते पुन बिही गाउँमा छुटेकाहरुलाई खोप लगाइने कार्यक्रम तय भएको छ ।

असोज २ गते वडा नं ४ को छाक–क्वाकको स्वास्थ्य संस्था, ३ गते गाप नुब्री आधारभूत विद्यालाय, ४ गते प्रोक स्वास्थ्य संस्था, ५ गते हुकुम, ६ गते नामरुङ्ग (लार्केबजार स्वास्थ्या चौकी) र ७ गते गाप वडा कार्यालयमा दोस्रो डोजको खोप लगाइने जनाएको छ । दोस्रो खोप लगाइसकेपछि अन्तिम खोप ६ महिना पछि लगाउनु पर्ने आयोजक किमोलुङ फाउण्डेशन नेपालका अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए ।

हिमाली तथा उच्च पहाडी भेगका मनिसमा हेपाटाइटिस ‘बी’ को संक्रमण बढी मात्रमा देखिन थालेकाले शिविर आयोजना गरिएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने क्रममा गरिने स्वास्थ्य परिक्षणको क्रममा त्यहाँका स्थानीयमा बढी मात्रामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएर रोजगारीमा जान नपाउने गरेको अध्यक्ष लामाले बताए । यसअघि बिहीमा शिविर सम्पन्न गरिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्