| सोमवार, कार्तिक २३, २०८३

सहरका जेन–जीलाई डाँडामा बसेर हेर्दै गाउँका जेन–जीहरु

शिव उप्रेती ।
गतहप्ताको दुईदिन काठमाडौँलगायत देशका ठूला सहरका सडकमा जेन–जीको जनसागर उर्लियो । सुरक्षाकर्मीका गोलीले कैयौँ जेन–जी मरे । प्रदर्शनकारीका कुटाइले कैयौँ सुरक्षाकर्मी ढले । संसद भवन, सिँहदरबार, सर्वोच्च अदालत, सितलनिवास लगायतका सार्वजनिक सम्पदा जलेर स्वाहा भए । ठूला सञ्चारमाध्यमका भवन, व्यापारिक प्रतिष्ठानमा दन्दनी आगो बले, लुटपाट भयो । कारागारबाट तोडफोड गरी हजारौँ हजार कैदीबन्दी भागे । तीनदिनसम्म सहर संत्रासमय भयो ।

सरकार ढल्यो, मुलुकलाई निकास दिने जिम्मा नेपाली सेनाले लियो । निषेधाज्ञा, कफ्र्यु लाग्यो । संसद भंग भयो । नयाँ प्रधानमन्त्री नियुक्त भए । छोटो समयमा मुलुकको राजनीति उलटपुलट भयो । यता गोरखाको एउटा दुर्गम चुम उपत्यका बिगत नौ दिनदेखि विद्युत, टेलिफोन, इन्टरनेट सेवाविहिन छ । चुमनुब्री गाउँपालिका ७ का आठवटा गाउँबस्ती गत भदौ २२ गते आइतबार बिहानदेखि सञ्चार सम्पर्कबिहिन छ । स्थानीय लघु जलविद्युत आयोजनामा खराबी आएपछि विद्युत सेवा नहुँदा छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी र छुले गाउँका करिब तीनसय घरधुरीका आठसय भन्दा धेरै नागरिकले न विद्युत सेवा पाएका छन्, न टेलिफोन, न इन्टरनेट सेवा पाएका छन् ।

सञ्चार सम्पर्क बिच्छेद भएपछि त्यहाँका धेरैमा मुलुकमा तीब्र गतिमा भइरहेको राजनीतिक परिवर्तनको सूचनाबाट बञ्चित छन् । सहरका जेन–जीले गरेको बिद्रोहबारे थाहा पाउन गाउँका जेन–जीहरुलाई पनि हुटहुटी छ । अब साँच्चै मुलुकमा परिवर्तनका दृश्यहरु देखिन्छ कि भन्नेमा गाउँका जेन्जीहरु पनि जिज्ञासु र उत्साहित छन्, तर लामो समयदेखि विद्युतसंगै मोबाइल र इन्टरनेटविहिन भएपछि उनीहरु समस्यामा छन् ।

परिवर्तित राजनीतिप्रति चासो हुनेहरु अहिले गाउँभन्दा पर रहेको एउटा डाँडा(च्याङ्पार काङदो)मा जान्छन् । त्यहाँ धेरै पर न्याकको टावरले मोबाइलमा नेटवर्क दिन्छ । त्यही डाँडाको ढुंगामा, कोही चौरमा बसेर उनीहरु मोबाइल चलाउँछन् र देशमा के के भइरहेको छ भन्ने जानकारी लिने कोशिष गर्छन् । दिनभर खेतबारीको काममा व्यस्त उनीहरु साँझपख जब मेलाको काम सकिन्छ, अनि च्याङ्पार डाँडाको ढुंगामा बस्छन्, अनि मोबाइल चलाउन थाल्छन् ।

‘अहिले गाउँमा फापर काट्ने बेला भएको छ । मान्छेहरु बिहानैदेखि बारीको काममा जान्छन्’, निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामा भन्छन्, ‘अनि साँझ खाना खाईवरी च्याङपार डाँडामा जान्छन् । त्यहाँ न्याकको टावरले मोबाइल चल्दोरहेछ । डाटा प्याक लिएर काठमाडौँतिर के भइरहेको छ भन्ने हेर्छन् ।’ गाउँका जेन्जीहरु रात छिप्पिँदासम्म डाँडामा बसेर सहरका जेन्जीको आन्दोलन हेर्ने उनले बताए । कोही काय गुम्बाडाँडामा गएर मोबाइल चलाउने उनले बताए ।

चुमनुब्री गाउँपालिका वडा नं. ७ का सबै गाउँबस्तीमा गत आइतबार बिहानदेखि विद्युत, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको स्थानीय दोर्जे लामाले जानकारी दिए । ‘आइतबार बिहानदेखि कादुरी संस्थाले बनाएको लघु जलविद्युत आयोजनाको पावर हाउस बिग्रिएर विद्युत उत्पादनै बन्द भयो’, लामाले टेलिफोनमा भने, ‘त्यसपछि वडा नं. ७ को सबै ठाउँबस्तीमा बत्ती छैन । पावरहाउसबाट लगेको बत्तीले मोबाइलको टावर चलेको थियो । बत्ति नभएपछि टावर पनि चलेन । इन्टरनेट पनि सबै बन्द भयो ।’ गाउँ सञ्चार सम्पर्कबिहिन भएपछि आफूले न्याकस्थित टावरले सेवा दिने डाँडामा गएर फोन गरेको उनले बताए ।

बिजुली बत्ती बाल्न नपाएपछि ज्येष्ठ नागरिकहरु बिगत नौ दिनदेखि दियालो र टुकीको उज्यालोमा बस्नु परेको उनले बताए । कसैको घरमा सोलार प्रविधि रहेकाले अरुहरु पनि त्यहाँ मोबाइल चार्ज गर्न उनले बताए । ‘विद्युतका प्राविधिकले कादुरी संस्थासंग टेलिफोनमा कुराकानी गर्दा विद्युत उत्पादन गर्ने मेसिनमा खराबी आएको हो भन्ने थाहा भयो । आन्दोलनले पनि केही दिन रोक्यो । अब कहिले प्राविधिक आउने हो, कहिले बनाएर उज्यालोमा बस्न पाउने हो’, दोर्जेले भने, ‘बत्ति नभएपछि मोबाइल, इन्टरनेट केही नचल्ने रहेछ । वाइफाइ नचलेपछि आफन्तहरुसंग कुराकानी गर्न नपाउने, बाहिरको कुरा थाहा नपाउने । हामी दुर्गमबासीलाई साँच्चै अन्धकार पो हुने भयो ।’

गाउँमा विद्युत सेवा नहुँदा गहुँ, जौ, फापर लगायतका अन्न पिस्ने मिल, काठ काट्ने मिल, फापर काट्ने मेसिन, घरायसी विद्युतीय उपकरण चलाउन नपाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्