| सोमवार, कार्तिक २३, २०८३

लयमा फर्कियो गोरखा

जेन–जीको आन्दोलनका कारण केही दिनदेखि बन्द रहेका जिल्लाका सरकारी कार्यालयहरु आज(आइतबार) देखि खुल्ने भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आइतबारबाट जिल्लाका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, उद्योग व्यवसायहरु सुचारु भएको हो ।

जेनजी आन्दोलनका कारण प्रभावित बनेको जिल्लावासीको जनजीवन सामान्य बन्न थालेको छ । शुक्रवारबाट निषेधाज्ञा र कफ्र्यू हटेसँगै व्यापार व्यवसाय संचालनमा आएका छन् । बजारमा सर्वसाधारणको चलहपहल बढ्न थालेको देखिन्छ ।
शनिवारबाट सार्वजनिक गाडीहरु चल्न थालेका छन् । जेनजी आन्दोलनका कारण जिल्लामा गत मंगलवारदेखि सार्वजनिक यातायात ठप्प थियो । जिल्लाभित्र र बाहिर सार्वजनिक यातायात संचालन हुन सकेको थिएन । शुक्रवारबाट जिल्लामा कफ्र्यू र निषेधाज्ञा हटेपनि शनिवारबाट मात्रै सार्वजनिक सवारी चल्न थालेको हो । जिल्लाबाट काठमाडौैँ, चितवन, पोखरा लगायतका ठाउँमा पनि सवारीहरु पठाउन थालिएको यातायात प्रालिहरुले जनाएका छन् ।

आन्दोलनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु पनि खुल्ने भएका छन् । आइतवारबाट पठनपाठन सुरु हुने बिभिन्न पालिकाहरुले सार्वजनिक सूचना मार्फत जानकारी गराएका छन् । जेनजी आन्दोलनका कारण मंगलवारदेखि जिल्लाका शैक्षिक संस्थाहरु पनि बन्द थिए । आइतवारबाट बैँक तथा वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा संचालनमा आउने भएका छन् । आन्दोलन अवधीभर जिल्लाका सरकारी कार्यालयहरु भने खुल्ला थिए । तर निषेधाज्ञा र कफ्र्यूका कारण सेवाग्राही थिएनन् ।

प्रतिक्रिया दिनुहोस्